'बयलगाढा'को प्रसङ्ग निकाल्दै माधवले भने: पार्टीभित्र कायर प्रवृत्ति थियो - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

‘बयलगाढा’को प्रसङ्ग निकाल्दै माधवले भने: पार्टीभित्र कायर प्रवृत्ति थियो



काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाहको माघ १९ को कदमपछि त्यसको सामना गर्ने क्रममा पार्टीभित्र कायर प्रवृत्ति रहेको स्मरण गरेका छन्। एमाले छाडेका सुवास कर्माचार्यलाई पार्टी प्रवेश गराउँदै बुधबार उनले माघ १९ को कदमपछि आफूहरुको मनोबल कमजोर बनाउने प्रयास भएको बताए।

‘प्रतिगमनको सामना गर्‍यौं हामीले। कतिपय पार्टीहरुले आँट गरिरहेका थिएनन्। तर हामी एक्लैले आँट गर्‍यौं। पार्टीभित्र पनि कायर प्रवृत्ति थियो। राजतन्त्रलाई ढाल्न सकिँदैन भन्ने कमजोर मानसिकता अर्थात् दक्षिणपन्थी सोच विद्यमान थियो। राजतन्त्रलाई ढाल्न खोज्नु भनेको बयलगाढा चढेर अमेरिका पुग्नु जस्तै हो भन्ने ठानेर आन्दोलनकारीको मनोबल कमजोर पार्ने कोसिस भएको थियो’, उनले भने।

अध्यक्ष नेपालले माघ १९ पछि आफूलाई घरमै कैद गरिएको र घरमा भएका मोबाइल, टेलिफोनदेखि अरु सबै विद्युतीय सामग्री नियन्त्रणमा लिइएको बताए। आफ्ना भाइहरुको घरबाट पनि सामानहरु बरामद गरिएको उनले बताए। ‘त्यसपछि मलाई लिएर ककनीमा सशस्त्र प्रहरीको एकान्तमा थुनामा राखियो। तर, त्यस्ता कुराले हामीलाई विचलित गरेन’, उनले भने।

नेपालले त्यतिबेला दुईथरी सोच रहेको बताए, एउटा आन्दोलनको मनोबल बुलन्द पार्ने र अर्को कमजोर पार्ने। ‘अन्त्यमा मनोबल बुलन्द पारेर देशमा आन्दोलनको तरंग गर्ने काम भयो’, उनले भने।

बुटवलमा राजतन्त्र विरोधी पहिलो आमसभा र त्यसबाट देशभरिका जनतालाई बेग्लै उत्साहको सन्देश दिने काम नभएको भए यो देशबाट राजतन्त्र ढाल्न सकिँदैनथ्यो भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आजै बिहान आफूलाई भनेको र त्यो सही मूल्यांकन भएको नेपालले सुनाए।

‘हामीले एक्लै आँट गरेका थियौं त्यो बेलामा। नेपाली कांग्रेसलाई आग्रह गरेका थियौं, आन्दोलनमा सँगसँगै जाऔं भनेर। आमसभा गरौं, विरोधसभा गरौं, विरोध प्रदर्शन गरौं, देशव्यापी ज्वारभाटा सिर्जना गरौं भन्दाखेरि सुरुमा नेपाली कांग्रेस तयार भएन। पछि कांग्रेस पनि सहभागी भयो’, उनले भने।