बाटो पोलेर सेल्फी खिच्नेहरुको नाउँमा पत्र !
-ईश्वर अर्याल
प्रिय सेल्फीवाला युवाहरू,
फेसबुक तात्यो, पाँच नम्बर प्रदेशका केही तराईका जिल्लाहरू छुट्ट्याउने सरकारी विधेयकको विरोधमा जनलहर उर्ल्यो । यहाँ सम्म ठिकै छ । आत्मनिर्णयको अधिकारको हवाला दिने सरकारले एक हदसम्म स्थानीयको माग विपरीतको विधेयक पेस गर्नु सरकारको कमजोरी हो । सके देखी सरकारले यसलाई तुरुन्तै सच्याओस । नत्र प्रतिपक्षले जनताको दबाबको आधारमा सो प्रस्तावको विरुद्धमा मत हालोस र प्रस्ताव पास हुन नदियोस । संसदीय लोकतन्त्रको अभ्यास भनेको यही हो । सयौँ बिधेयकहरु संसद्मा लगिन्छन, केही पास हुन्छन् केही फेल हुन्छन् ।
कम्युनिस्टको नाम धारण गरेर २०४६ सालदेखि संसदको अभ्यास गरेर देशको दीर्घकालीन महत्त्व राख्ने प्राकृतिक स्रोतहरू र नदीनालाहरु बेच्ने प्रस्तावमा कहिले राती त कहिले दिउसो छलफल गरेर पास गराउन तयार हुने एमाले नेतृत्वलाई आजकलको रातहरुमा देश जोगाएको सपना एकाएक आउन थालेको छ । तराई मधेसका जिल्लाहरुलाई किला ठोकेर पहाडी जिल्लाहरुसंग राष्ट्रबादी नाइलनको डोरीले बाँध्नै पर्ने स्थितिको सृजना गरिएको छ । मानौं तराई मधेसका जिल्लाहरू चोर बाख्रा हुन र पहाडी किलाहरुमा नबाँधे देखी उनीहरू बिहारको धानखेती चर्न गईहाल्छन ।
प्रिय सेल्फिवाला युवाहरू,
देश सङ्घीयता सहितको संविधान कार्यान्वयन गर्ने चरणमा छ । पर्याप्त छलफल बिना ल्याइएको सङ्घीयताको प्रावधान ल्याउनु पूर्व नै जातीय बिखण्डनको आरोपबाट गुज्रिएको थियो । कार्यान्वयनको चरणमा ध्रुवीकरण हुनुलाई त्यति जटिल मान्नु पर्ने अवस्था छैन । दलिय राजनीतिको एउटा खराब गुण भनेको जनता भन्दा दल र दल भन्दा संसद् सर्वोपरी हुनु हो । स्वभावैले हाम्रो समाजमा दलिय बिबिधतामा आधारित छ । दल भन्दा उद्योग धेरै खोलिएको भए देश आत्मनिर्भर बनिसकेको हुन्थ्यो ।
सङ्घर्षका रुपहरु धेरै हुन्छन् । तर जनताको चेतनाले सडकमा टायर बाल्ने राजनीतिलाई नै आजसम्म स्वीकार गरिरहेको छ । बुटवलका सडकहरुमा टायर बाल्दै सेल्फी खिच्नेहरुका धेरै तस्बिरहरू इन्टरनेट मार्फत भाइरल बने । तस्बिरहरू बोल्दैनन तर गिज्याउँछन । तस्बिरहरू चल्दैनन, तर मानसिकता हल्लाईदिन्छन । तस्बिरहरू निर्जीव हुन्छन् तर तिनीहरूले सजिवताको व्याख्या गर्दिन्छन । टायर बालेर सेल्फी खिच्ने तस्वीरहरुले मानिसको चेतना, अवचेतना र मानसिकताहरुको व्याख्या हजार शब्दहरूले भन्दा धेरै गरेका छन् ।
एक्काइसौं शताब्दी, सूचनाको सही सदुपयोग, चेतनामा अभिबृद्दी, सामाजिक जिवनस्तरमा बदलाव, बिकासोन्मुख राजनीति, बिश्वब्यापिकरणमा नेपाली समाजको भूमिका, सही नेतृत्व चुन्ने क्षमता, आत्मनिर्णयको सही सदुपयोग, लोकतान्त्रिक संस्कृतिको हस्तान्तरण जस्ता सयौँ सभ्य वाक्यांशहरुलाई गलत व्याख्या गरेका ती तस्वीरहरुले एउटा औसत नेपाली मानसिकतामा सङ्घर्ष हो भन्ने छाप पारेको होला तर एउटा औसत विदेशीको मानसिकतमा जंगली हर्कतको प्रतिबिम्ब छोडेको छ ।
पंक्तिकारले फेसबुक स्ट्याटसमा यस्ता हर्कतको विरोध गरेको देख्नासाथ केही युवाहरूले पंक्तिकार पनि खगेन्द्र संग्रौला भएको भनेर प्रतिक्रिया दिए । कुनै बेला नेपाली साहित्यको धरोहर हल्लिन नदिएर अनपढ र गवाँंर नेतृत्वले भर्खर राजनीतिक चेतना प्राप्त गरेका युवाहरूको दिमागमा भरिदिन सक्ने गैर-राजनीतिक लिदीलाई ब्रस लिएर निरन्तर साफ गर्ने साहित्यकारहरुसंग पंक्तिकारको तुलना गरिएकोमा बाटो पोलेर सेल्फी लिने युवाहरूको अगाडि गर्वले गर्वले छाती फुलाउने बाहेक अरू केही गर्न सकिएन ।
प्रिय सेल्फीवाला युवाहरू,
आफैँमा सनक चढ्नु मानवीय स्वभाव हो । अरूको सनकमा अमानविय हर्कत गर्नु दासकिय स्वभाव हो । राजनीतिलाई अलग बुझौं, र समाजलाई अलग बुझौं । समाज भनेको भिन्न भिन्न राजनीतिक विचारहरूको संमिश्रण हो । तिनै राजनीतिक अन्तर्बिरोधहरुले समाजलाई जिँउदो तुल्याउँछन ।
आफ्नो सोच मात्र सही र अर्काको सोच चाहिँ बिखण्डनकारी देख्नु हाम्रो राजनीतिले देखाएको ऐना हुन सक्छ तर समाजले चाहिँ सबैलाई बराबर देख्न सक्ने आँखा दिएको हुन्छ । सङ्घीयता मन पर्छ भने यसलाई कार्यान्वयन गर्न आवश्यक पर्ने संशोधन र चुनाव जस्ता अवयबहरुलाई स्वीकार गरौँ, सङ्घीयता मन पर्दैन भने विकल्प लिएर जनतासमक्ष जाउँ । जबसम्म राजनीति जिउँदो रहन्छ समाजमा विपरीत ध्रुवहरु पनि जिउँदै हुन्छन् । तर एकले अर्काको सम्मान गर्ने नगर्ने कुरा चाहिँ बदलिँदो शताब्दीले सिकाएको सभ्यतामा निर्भर रहन्छ ।
प्रिय सेल्फिवाला युवाहरू,
पन्चायतको विरोध गर्दा पनि त्यही सडक प्रयोग गर्यौ र त्यही टायरहरु बाल्यौ । तर तिमीहरूले टायर बाल्दै गर्दा गोरखकाली टायर खोजेर बालेको भए हुन्थ्यो । त्यसलाई बाल्न प्रयोग गरिएको इन्धन चाहिँ पन्चायतकालमा नेपालमै प्रशोधन गरिएको मटितेल हुनु पर्थ्यो । त्यो टायर बाल्न प्रयोग गरिएको सडकमा नेपाली नम्बर प्लेट भएका टिपरहरुले हेटौँडा सिमेन्ट कारखानाबाट बोकेका सिमेन्टले सम्याईएका नालीहरु भएको भए राम्रो हुन्थ्यो । अनि ती सेल्फी खिच्ने फोनहरु नेपालमै एसेम्बल गरिएका आइफोनहरु भैदिएको भए सुनमा सुगन्ध हुने थियो ।
घर जलाएर खरानीको व्यापार गर्न त कोही तिमिहरुबाट सिकोस । स्यालले कुखुरा लग्यो भनेर तिनपानेसंग साँप्रा डकार्न कोही तिमिहरुबाट सिकोस । पंक्तिकार स्वयम् विदेशमा मजदुरी गरिरहेको एक मजदुर हो । बगाउने पसिना हो, कसैले बटुकोमा लिएर खाइरहेको खोले बगाईदिने हैन । उडाउने शान्तिको परेवा हो, विदेशीले बनाइदिएको सडकमा विदेशी टायरको धुँवा उडाउने हैन । पोख्ने पौरख हो, मजदुरहरूको आँसु होइन । लेख्ने वीरताको गाथा हो, साम्प्रदायिक भड्काउहरु होइन । ढाल्ने खराब व्यवस्था हो, ऐतिहासिक हस्तीहरुको सालिक होइन । एकता र सद्भावको मुस्कान मुस्कुराउने हो, अरूको मौनतामा अट्टाहासको हाँसो हाँस्ने होइन ।
प्रिय सेल्फिवाला युवाहरू,
बाह्र घन्टाको ड्युटीमा रँहदा समयको अभावमा हरेक घन्टामा पाँच पाँच मिनेटको लागी सौचालय छिरेर १२ घन्टाको ६० मिनेटमा मोबाइलमा टाइप गर्दै लेखिएको यो लेखले परिवर्तन ल्याउला र नेपालमा बसेका युवाहरूलाई केही शिक्षा देला भनेर आशा गर्दैन । परिवर्तन गर्ने देशमै भएका युवाहरूले हो । आफू पक्का राष्ट्रबादी बनेदेखी अनुहार कालो या नाक थेप्चो भएकै आधारमा अरूले देश चढाउँछन की भन्ने सोच दिमागमा आउँदैन ।
गलत बोलेको भए माफी चाहन्छु । धन्यवाद !!