वातावरणीय चक्र बिग्रन नदिन सबैले सचेत हुनुपर्छ:मन्त्री मगर - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

वातावरणीय चक्र बिग्रन नदिन सबैले सचेत हुनुपर्छ:मन्त्री मगर



ललितपुर। खानेपानी मन्त्री बिना मगरले उपत्यका क्षेत्रका खानेपानी मुहानको सुरक्षा, संरक्षण र सम्वर्द्धनको जिम्मा सरकारले लिने गरि विशेष योजना बनिरहेको बताउनुभएको छ ।

ललितपुरको गोदावरी नगरपालिका ६ सिखर्पास्थित बासुकी-सिखर्पा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पहिलो साधारणसभालाई सम्बोधन गर्नुहुँदै मन्त्री मगरले खानेपानीका मुहान संरक्षण गर्नु अनिवार्य रहेको बताउनुभयो ।

‘वातावरणमा हुने मानवीय प्रभावले खानेपानीका मुहान सुक्ने अवस्था छ, जमिन रिचार्ज हुन पाइरहेको छैन,’ उहाँले भन्नुभयो, ‘वातावरणीय चक्र बिग्रन नदिन सबैले सचेत हुनुपर्छ ।’

व्यवस्थित वस्तिको पहिलो पुर्वाधार खानेपानी भएकाले सबै वस्तिमा खानेपानी सुविधा पुर्याउन योजना बनाइने उहाँले बताउनुभयो ।

‘खानेपानी हाम्रो स्वास्थ्य र शरीरसङ्ग प्रत्यक्ष जोडिएकाले देशको विकास र समृद्धिमा स्वच्छ खानेपानी मुख्य पुर्वाधार हो,’ उहाँले भन्नुभयो, ‘वाम गठबन्धनको स्थिर सरकारले आवश्यक योजना बनाउदैछ ।’

आगामी आर्थिक वर्षमा स्वच्छ खानेपानी व्यवस्थापनका लागि नयाँ योजना र कार्यक्रम बनिरहेको उहाँले बताउनुभयो । मेलम्ची खानेपानी आयोजनाको पानी छिटोभन्दा छिटो काठमाडौ ल्याउनका लागि काम भइरहेको उहाँले बताउनुभयो ।

‘सम्भवत दशैअघि नै पानी काठमाडौ ल्याउने योजना छ, त्यही गतिमा काम भइरहेको छ,’ उहाँले भन्नुभयो । कार्यक्रममा सहभागी वक्ताले जनताले खानेपानी र सडकका योजना बढी माग्ने गरेको बताएका छन् ।