प्रेम आलेविरुद्ध रिट लिएर बतास समूह सर्वोच्चमा
काठमाडौँ- नारायणहिटी प्रकरणबाट विवादास्पद बनेको बतास समूह सरकार विरुद्ध सर्वोच्च अदालत पुगेको छ । सरकारको निर्णयलाई चुनौती दिँदै बतास समूह सर्वोच्च अदालत पुगेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्णयले आफू अन्यायमा परेको भन्दै बतास रिट लिएर अदालत पुगेको छ । बतास फाउण्डेशनको नामबाट मन्त्री आलेविरुद्ध रिट परेको तर दर्ता नभएको बताइएको छ ।
बतासले लागेको रितमाथि अध्ययन भइरहेको सर्वोच्च स्रोतले जनाएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले नियम विपरित बतासलाई नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट सञ्चालन गर्ने अनुमति दिएको थियो ।
मन्त्री आलेले उक्त निर्णय उल्ट्याउनुका साथै त्यहाँ निर्मित संरचना समेत भत्काउन लगाएका थिए । त्यसलगत्तै पशुपति धर्मशालामा पनि बतास समूहले सम्झौताविपरित काम गरेको भन्दै सम्झौता तोडिएको थियो ।
लामो समयदेखि बतासले कौडीको भाउमा सम्झौता गरेर सञ्चालन गर्दै आएको पशुपतिस्थित धर्मशाला पनि सञ्चालनमा रोक लगाउने निर्णय सरकारले गरिसकेको छ । मन्त्री आलेका यस्ता निर्णयले अत्तालिएको बतासले उहाँविरुद्ध कानुनी लडाईं लड्ने चेतावनी दिँदै आएको थियो ।
केही दिनअघि विज्ञप्ति जारी गर्दै मन्त्री आलेको निर्णयले आफूलाई करोडौं रुपैयाँ घाटा भएको दाबी गर्दै बतासले क्षतिपूर्तिको मागसमेत गरेको थियो ।