नारायणहिटीबाट बतास समूहलाई जसरी पनि हटाउने मन्त्री आलेको घोषणा - Himal Post Himal Post
  • १३ माघ २०८१, आईतवार
  •      Sun Jan 26 2025
Logo

नारायणहिटीबाट बतास समूहलाई जसरी पनि हटाउने मन्त्री आलेको घोषणा



काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी सङ्ग्रहालय भित्रबाट बतास समूहलाई हटाउने प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

बिहीवार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मन्त्री आलेले नारायणहिटी सङ्ग्रहालयमा रेस्टुरेन्टलगायतको भौतिक संरचना निर्माण गरिरहेको बतास समूहलाई त्यहाँबाट हटाउने बताएका हुन् ।

मन्त्री आलेले यो समूहलाई कुन प्रक्रियामार्फत हटाउने भन्ने विषयमा आफू छलफलमा रहेको बताए । मन्त्री आलेले मन्त्रीस्तरबाट वा मन्त्रिपरिषदबाटै निर्णय गरेर भए पनि हटाएरै छाड्ने बताए । उनले आज नै नारायणहिटीमा अवलोकनका लागि जाने पनि उल्लेख गरे ।

मन्त्री आलेले भने, ‘सङ्ग्रहालयमा जुन गतिविधि भएको छ, आज पावरमा भएको बेला एउटा व्यक्तिले लिजमा लिने, भोलि अर्को पावरमा भएको बेला अर्कोले लिने । पर्सि अर्को पावरमा भएको बेला अर्कोले लिने । यो गर्दै जाँदा पूरै वातावरण नै धमिलो हुन्छ । त्यसको संरक्षणको निमित्त चाहे मन्त्रिस्तरबाट होस् । चाहे क्याबिनेटबाट होस् यो हामी हटाएरै छोड्छौँ । नारायणहिटी राजदरबारको कुरा आएको हुनाले यो विषयमा मौखिक हामीले त्यो रोकेका छौँ । फेरि त्यसलाई कुन प्रक्रियाबाट हटाउन सकिन्छ भन्ने सबालमा हामी छलफलमा छौँ ।’

उनले नारायणहिटी सङ्ग्रहायलभित्र बतास समूहको प्रवेशको सम्बन्धमा छानबिन सुरु गरिएको बताए ।