धर्मशालामा बतास समूहले अवैध काम गरेको भेटियो - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

धर्मशालामा बतास समूहले अवैध काम गरेको भेटियो



काठमाडौं- बतास समूहले जिम्मा लिएको पशुपति धर्मशालामा अमनुमति नलिएर काम भइरहेको पाइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशालामा अनुमति नलिइकनै काम गरेको पाइएको बताएका छन्।

बतास समूहले व्यवस्थापनको जिम्मेवारी लिएको धर्मशालाको आइतबार अनुगमनपछि मन्त्री ओलेले अनुमति बिना काम भइरहेको बताएका हुन्।

पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र छानबिन समितिका सदस्यहरुसहित अनुगमनमा पुगेका मन्त्री आलेले धर्मशालाका कतिपय कोठाहरु निजीलाई दिइएको र कतिपय कामहरु पशुपति क्षेत्र विकास कोषसँग अनुमति नलिइकनै गरिएको पाइएको बताए। उनले टेण्डर निकाल्ने बेला पनि पशुपति क्षेत्र विकास कोषको परिषद्को बैठकबाट यो अनुमोदन नगरेको पाइएको बताए।

मन्त्री आलेले भनने, ‘अनुगमन गरियो, कतिपय कोठाहरु प्राइभेटलाई दिइएको रहेछ। त्यो दिनै नमिल्ने कामहरु भएको रहेछ। कतिपय पशुपति क्षेत्र विकास कोष समितिसँग अनुमति लिएर गर्नुपर्ने कामहरु पनि नगरिएको देखियो। सबैभन्दा पहिलो त यो टेण्डर निकाल्ने बेला पनि पशुपति क्षेत्रविकास कोषको परिषद्को बैठकबाट यो अनुमोदन हुनुपर्दो रहेछ। त्यो समेत नभएको, थुप्रै त्यस्ता कामहरु देखिएका छन्। भोलि हाम्रो प्रतिवेदन आउँछ, त्यसपछि त्यही आधारमा हामी अघि बढ्छौँ।’

पर्यटनमन्त्री आलेले सोमबार छानबिन समितिले प्रतिवेदन बुझाउने र सोही प्रतिवेदनको आधारमा अघि बढ्नेसमेत बताएका छन्।

भारतीय सहयोगमा पशुपति क्षेत्र विकास कोषको १९ रोपनी जग्गामा निर्माण भएको ३ तलाको ४ सय बेड रहेको ‘पशुपति धर्मशाला’ को व्यवस्थापनको जिम्मा बतास समूहलाई दिइएको थियो। ३४ करोड रूपैयाँमा निर्माण भएको ४ सय बेडसहितको संरचना र जग्गामा बतास अर्गनाइजेसनअन्तर्गतको होटल आनन्द प्रालिले होटल सञ्चालनमा छ। गरिरहेको छ। बतास अर्गनाइजेसनले होटलसँगै अहिले आफ्नो कर्पोरेट अफिस त्यहीँ सारेको छ। उसले आफ्ना पुराना गाडीको ‘शो-केस’ धर्मशालामा नै बनाएको छ।

केपी ओली नेतृत्वको सरकार हुँदा २०७६ वैशाख ३० गते बतास समूहसँग धर्मशाला १५ वर्षका लागि लिजआउट गर्ने गरी सम्झौता भएको थियो। सम्झौतामा पहिलो वर्षको भाडा १ करोड ५ लाख ४१ हजार ६ सय १८ रूपैयाँ हुने र प्रत्येक वर्ष ५ प्रतिशतका दरले बढेर १५ वर्षमा पुग्दा भाडा २ करोड ८ लाख ७१ हजार ६ सय ८२ रुपैयाँ उल्लेख गरिएको थियो।

धर्मशालाको शिलान्यास सन् २०१४ मा नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए। निर्माण सम्पन्‍ज भएपछि पनि सन् २०१८ मा फेरि नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री मोदी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रूपमा उद्घाटन गरेका थिए। २०७५ भदौमा उद्घाटन भएको धर्मशाला एक दिन पनि नचलाई कोषले भाडामा लगाउने भन्दै पशुपति धर्मशाला लिजआउटसम्बन्धी कार्यविधि २०७५ बनाएको थियो।