पशुपति धर्मशाला सिल गर्न प्रेम आलेको निर्देशन, बतास समूह र कर्मचारीबीच तनाव - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

पशुपति धर्मशाला सिल गर्न प्रेम आलेको निर्देशन, बतास समूह र कर्मचारीबीच तनाव



काठमाडौं- नारायणहिटी रेस्टुरेन्टको ठेक्का प्रक्रिया रद्द गरेर चर्चामा आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति धर्मशालामा पनि सिलबन्दी गर्ने प्रयास गरेका छन्। अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा पशुपति धर्मशालामा रहेको होटल आनन्द सिल गराउन आलेले शुक्रबार कर्मचारी पठाएका हुन्।

तर, पशुपति धर्मशालामा होटल संन्चालन गरेको बतास समूहले सरकारी टोलीलाई गेटमै रोकेको छ। शुक्रबार बिहान गेटभित्र प्रवेश गर्न खोज्ने र रोक्ने दुवै पक्षबीच गेटमा केही बेर भनाभन भयो। बतास समूहका प्रतिनिधिले कानूनी उपचारमा रहेकाले सर्वोच्चको अन्तिम फैसला कुर्न आग्रह गरेको भएपनि मन्त्री आले प्रहरी लिएर होटल आनन्द बन्द गराउन गएका हुन्।

जबकि १ फागुनमा उच्च अदालत पाटनले गरेको फैसलामा ‘करार सम्झौता बमोजिम होटल आनन्द प्रालिको सञ्चालनमा कुनै बाधा, अवरोध सृजन नगर्नु नगराउनु भनी विपक्षीहरूको नाउमा अल्पकालीन अन्तरिम आदेश समेत जारी गरिदिएको छ’ भनिएको छ।

पशुपति विकास कोषले काठमाडौं महानगरपालिका वडा नं ८ लाई बिहीबार एक पत्र लेख्दै धर्मशाला खाली गर्न सहयोग मागेको थियो। शुक्रबार बिहान १० बजे उक्त धर्मशाला सिल गर्ने कार्यक्रम रहेकाले धर्मशालामा रहेका सामानको मुचुल्काको साक्षी बस्नका लागि कोषले वडा कार्यालयलाई पत्र लेखेको हो।

तर, उक्त धर्मशालासम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले आफू सहभागी नहुने र विधि विपरीतको काम नगर्ने प्रतिक्रिया ८ का वडाध्यक्ष दिनेशकुमार डङ्गोलले दिए।