महेश बस्नेतले भने: खगेन्द्र संग्रौलालाई धम्की दिएको छैन, संग्रौलाले गफ दिएछन् - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

महेश बस्नेतले भने: खगेन्द्र संग्रौलालाई धम्की दिएको छैन, संग्रौलाले गफ दिएछन्



काठमाडौं- नेकपा एमालेका नेता महेश बस्नेतले आफूले नागरिक अगुवा खगेन्द्र संग्रौलालाई धम्की नदिएको भन्दै संग्रौलाले गफ दिएको बताएका छन् । उनले धम्काउने थर्काउने आफ्नो स्वभाव नभएको समेत बताएका छन्।

‘खगेन्द्र संग्रौला बाजेले आज फेरि अर्को गफ दिएछन्। गाली शिरोमणिको उपमा पाएका बाजे अरुलाई होच्याउन र अपमान गर्न निकै सिपालु मानिन्छन्। बस्नेतले लेखेका छन्, ‘ म भक्तपुरको असल संस्कारयुक्त परिवारमा हुर्केको मान्छे हुँ। धम्काउने थर्काउने मेरो शैली होइन।’

बस्नेतले संग्रौलालाई धम्की दिन आवश्यक नरहेको पनि बताएका छन्।

‘जहाँसम्म अस्ति ९ गते उपत्यका युथ फोर्स कमाण्ड घोषण सभामा मैले बोलेको बिषय छ। न खगेन्द्र बाजेलाई धम्की दिएको छ। न माधव नेपाल कमरेडलाई थर्काएको छ। न त्यसो गर्न आवस्यक नै छ।’

बस्नेतले लेखेका छन्, ‘युथ फोर्सले जाई कटक नगर्नु झिकि कटक गर्नु भन्ने पृथ्वीनारायण शाहको दिव्य उपदेशको फलो गर्नेछ। सहज ढंगले आफ्नो लक्षमा हिँड्नेछ। वाधा अडचन आइपरे मात्र हटाउनेछ।’

एमालेको पंक्ति र जनतासंग शत्रुता साँध्ने शक्तिबाहेक कोही त्रसित हुन आवस्यक नभएको उनको तर्क छ। संग्रौलाले महेश बस्नेतले साइबर सेना लगाएर आफूलाई तह लगाउने प्रत्यक्ष धम्की दिएको उल्लेख गरेका थिए।

‘शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ। अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए।’

संग्रौलाले ट्वीटरमा लेखेका छन्, ‘तह लाउने बदनाम गरेर,कुटेर हो कि मारेर हो ? यो अति उदार र सहिष्णु ओली सरको आदेश बमोजिमको धम्की त होला। धन्य ओली सर!’