सभामुख सापकोटासँग महेश बस्नेत ‘फायर’
भक्तपुर– नेकपा एमालेका तथा पूर्वमन्त्री महेश बस्नेतले एमालेले सिफारिस गरेका १४ सांसदको कारबाही विगतको गुरिल्ला शैलीमा रोकेका छन् । आज भक्तपुरमा आयोजित कार्यक्रममा विभिन्न जालझेल गरेर छुट्टै सरकारको छले दिने गरी एमालेको कारबाही सिफारिस रोकेको आरोप लगाए ।
बस्नेतले राष्ट्रिय अन्तर्राष्ट्रिय जगतको केही पक्ष नेपालको राजनीतिलाई अस्थितरतातर्फ धकेल्ने प्रयासमा लागेको अवस्थामा सभामुख सापकोटाले गरेको निर्णय उनीहरूको पक्षपोषणमा देखिएको बताए । सभामुखको निर्णयले नेपाली राजनीति र संविधान कार्यान्वयनमा गलत नजिर बसालेको उनको भनाइ छ ।
उनले वर्तमान सरकारलाई सुरुवातमै कुपोषण लागेको आरोप लगाए । सरकारले पूर्णता पाउन नसक्नु कुपोषणको लक्षण भएको बस्नेतको भनाइ थियो ।
सरकारमा सामेल दलहरूले संविधानभन्दा माथि गएर काम गरेको र अध्यादेशबाटै संसद्लाई निरन्तरता दिने प्रक्रियाका साथै एमाले फुटाउने अभियानमा मात्र केन्द्रित भएका उनको भनाइ छ ।
नेपाली राजनितिमा च्याँखे दाउ थाप्न माहिर माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेससँग सहकार्य गरी आफ्नो छोरीलाई मेयर बनाएको र २०७४ को निर्वाचनमा एमालेसँग च्याँखे थापेको उनले बताए । आगामी निर्वाचनमा महागठबन्धनको नाममा नयाँ च्याँखे थाप्न दाहाल लागिरहेको बस्नेतको आरोप थियो ।
सरकारले पूर्णता पाउन नसक्नुको पछाडिको रहस्य टाउकोले पुच्छर हल्लाउनु पर्नेमा पुच्छरले टाउको हल्लाएकै कारण रहेको बस्नेतले बताए । अबको एक मात्र बिकल्पको भनेको तीनै तहको निर्वचन तत्काल गरिनु रहेको उनले बताए ।
राष्ट्रिय सहमतिको सरकार निर्माण गरि मितव्ययी रूपमा तीनै तहको निर्वाचन एकै समयमा गर्नु नै अन्तिम विकल्प रहेको बस्नेतको भनाइ छ । उनले संविधानको मिचेर अनेका खालका अध्यादेश ल्याएर निर्वाचनलाई पछि धकेल्दै संसद्मा फोहोरी खेल खेल्दै एमालेलाई कमजोर बनाँने सपना नदेख्न र निर्वाचनमा उत्रन आग्रह गरे ।