माधव नेपाललाई महेश बस्नेतले दिए आक्रमणको धम्की - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

माधव नेपाललाई महेश बस्नेतले दिए आक्रमणको धम्की



काठमाडौं- नेकपा एमाले ओली समुहका नेता महेश बस्नेतले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई अमर्यादित तरिकाले हातगोडाले सम्झाउने धम्की दिएका छन् । एमाले अध्यक्ष केपी ओलीलाई बडामहाराज भनेकोप्रति बस्नेतले नेता नेपालमाथि भौतिक आक्रमणको चेतावनी दिएका हुन्।

यसअघि पनि पटकपटक विवादित अभिव्यक्ति दिँदै आएका बस्नेतले शनिबार नेता नेपाललाई सकेसम्म मुखले सम्झाउने नभए हातगोडाले पनि सम्झाउनु पर्ने अवस्था नआओस भन्दै चेतावनी दिएका थिए । युवा संघका नेपालका इन्चार्जसमेत रहेका बस्नेतले ओलीले आममाफी दिन्छु भन्दा अनेक आरोप लगाएको भन्दै उनले माधव प्रवृत्तिविरुद्ध लाग्ने बताए ।

बस्नेतले कार्यक्रममा पार्टी अध्यक्षलाई लक्षित गरेर नेपालले दिएका विभिन्न अभिव्यक्तिले एमालेलाई भन्दापनि देउवा र प्रचण्डलाई सहयोग पुगेको समेत बताए । उनले भने, ‘एकताको प्रक्रियामा आउनुहोस् भन्दा केपी कमरेडलाई बडामहाराजको संज्ञा दिनुभयो। मुखले सम्झाउँछौं, मलाई लाग्छ- मुखले सम्झाउँदै काफी हुन्छ। यदि मुखले सम्झाउँदा मानेनन् भने कहिलेकाहीं हातगोडाले पनि सम्झाउनुपर्ने हुनसक्छ।’

नेकपा एमालाभित्रै युथ फोर्स र अन्य फोर्स गठनबारे विवाद भैरहेका बेला बस्नेतले हातगोडाले पनि सम्झाउनुपर्ने स्थिति आउन सक्ने चेतावनी दिएपछि विवाद थप बढ्ने देखिएको छ ।

शनिबार बिहान मात्र एमालेका प्रभावशाली नेता योगेश भट्टराईले यस्ता बाहुबली संगठनले समाजमा आतंक फैलाएको भन्दै तत्काल खारेज गर्नुपर्ने बताएकी दिन युथ फोर्सको कार्यक्रमबाट बस्नेतले वरिष्ठ नेतामाथि भौतिक आक्रमणको धम्की दिएका हुन् ।