बास्कोटाले भने – राजाको जयनेपाल काङ्ग्रेसले भन्न हुने राष्ट्रपतिले भन्न नहुने ?
काठमाडौं– संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ‘मेरो सरकार’को विषय निकालेर प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले निहुँ खोज्ने काम गरिरहेको आरोप लगाएका छन् ।
मन्त्री बाँस्कोटाले महेन्द्रले प्रयोगमा ल्याएको जय नेपाल भन्ने काँग्रेसले राष्ट्रपतिले ‘मेरो सरकार’ भनेको विषयलाई बहसको विषय बनाउन नमिल्ने तर्क पनि गरे । बिहीबार मन्त्रिपरिषद बैठकका निर्णय सुनाउन सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जय नेपाल महेन्द्रले २०१७ सालमा प्रयोग गरेको उल्लेख गर्दै त्यसलाई किन काँग्रेसले नछाडेको ? भन्दै प्रश्न समेत गरे ।
उनले बीपी चीनमा जाँदा ‘मेरो सरकार’, ‘मेरो देश’ भनेको स्मरण गराउँदै साना शब्दलाई समातेर सरकारसँग निहुँ नखोज्न पनि प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसलाई आग्रह गरे । ‘यो सबैको सरकारको हो’, संचारमन्त्री बास्कोटाले भने ‘तपाईको पनि सरकार हो, मेरो पनि सरकार हो, राष्ट्रपतिको पनि सरकार ।’
मन्त्री बास्कोटाले संसदमा सत्तापक्ष र प्रतिपक्षबीच वाद–विवाद र प्रतिवाद हुने कुरालाई सामान्य रुपमा लिन पनि संचारकर्मीहरुलाई आग्रह गरे । उनले प्रमुख प्रतिपक्ष काँग्रेससँगको सम्बन्ध नबिग्रिएको र अव बस्ने संसद बैठक विना अवरोध अघि बढने विश्वास पनि व्यक्त गरे ।