गणतन्त्रको गीत गाउन थालेपछि देश बिग्रियो: गोकुल बास्कोटा - Himal Post Himal Post
  • ६ माघ २०८२, सोमबार
  •      Mon Jan 19 2026
Logo

गणतन्त्रको गीत गाउन थालेपछि देश बिग्रियो: गोकुल बास्कोटा



काठमाडौँ– नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवम् नेपाल खेलकुद महासंघका इन्चार्ज गोकुल बास्कोटाले पृथ्वीनारायण शाहको शालिक फुटाएर गणतन्त्रको गीत गाउन थालेपछि देश बिग्रिएको बताएका छन् । उनले राजनीतिक दलहरुले खेलाडीहरुलाई समेत दुरुपयोग गर्ने गरेको बताएका छन्।

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका बास्कोटाले पञ्चायतकालमा व्यवस्था जोगाउन तथा बहुदलकालमा दलहरुले बुथ कब्जा गर्न खेलाडीहरुलाई दुरुपयोग गरेको भन्दै अब त्यसो हुन नदिने प्रतिवद्धतासमेत व्यक्त गरे।

नेपाल खेलकुद महासंघले आफ्नो सम्मानमा बिहीबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अब खेलाडीहरुलाई भोट प्राप्त गर्ने भोटिङ मेसिनको रुपमा प्रयोग हुन नदिने बताए। बास्कोटाले खेल क्षेत्र र त्यसका खेलाडीहरुलाई राष्ट्र निर्माणका लागि उपयोग गर्नुपर्ने बताए।

उनले खेल क्षेत्रले राष्ट्र, राष्ट्रियता र राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। बास्कोटाले राष्ट्रको उन्नतिका लागि उपयोगी हुने खेल क्षेत्रको विकासमा सहयोग गर्न सबै सामाजिक संघ, संस्थाहरुलाई आह्वान पनि गरे।

उनले भने ‘हामी त यो तरिकाले बिग्रियौं कि देश एकीकरण गर्ने पृथ्वीनारायण शाहको शालिक फुटाएर हामी गणतन्त्रको गीत गाउँछौँ। आफ्नो देशको मौलिकता बिर्सन्छौँ। म राजावादी भएको होइन। पञ्चायति व्यवस्था जोगाउन खेलाडीहरुको दुरुपयोग गरेपनि। हिजो पञ्चायतका कालमा व्यवस्थाको रक्षाका निम्ति खेलाडीहरुलाई प्रयोग गरियो भने बहुदल कालमा भोट मेसिनको रुपमा प्रयोग गर्न खोजियो। अब गणतन्त्रमा चाहीँ खेल कुनै दलको भोट प्राप्त गर्ने भोटिङ मेसिन हुँदैन। राष्ट्रको, राष्ट्रियताको र राष्ट्रिय गौरवको, राष्ट्रिय आत्माविश्वासको र राष्ट्र निर्माणको निम्ति यो खेल जगतलाई प्रयोग गर्नु पर्दछ। खेल क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्सी कारखानाले पनि सहयोग गर्नुपर्ने हुन्छ।’