प्रदीप पौडेलले भने : सरकार चलाउनु भाँडाकुटी खेलेजस्तो होइन - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

प्रदीप पौडेलले भने : सरकार चलाउनु भाँडाकुटी खेलेजस्तो होइन



काँग्रेस नेता प्रदीप पौडेलले गणतन्त्र ल्याउन ठूलो योगदान दिएका राजधानीका नेवार समुदायको भावनमा गम्भीर कुठाराघात गर्दै सरकारले गुठी विधेयक ल्याएको आरोप लगाएका छन् ।

शुक्रबार हेटौडामा पत्रकारहरुसँगको भेटमा नेता पौडेलले गुठी विधेयकले प्राचीन संस्कृति तथा सम्पदामा गम्भीर हमला गर्ने भएकाले तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

‘गुठी विधेयक विरुद्धको आन्दोलनले सरकार ढल्ने भन्दा पनि सरकारको गलत रवैयाका कारण वर्तमान संविधानमै बुहसंख्यकको अनास्था उत्पन्न हुने चिन्ता बढेको छ’ पौडेलले भने ।

गुठीलाई सामन्तवादको स्वरुप भन्ने सरकारी प्रवक्ताको अभिव्यक्तिको प्रतिवाद गर्दै पौडेलले विगतका घटनाक्रमहरु स्मरण गराउँदै सांस्कृतिक क्षेत्रमा अनावश्यक हस्तक्षेप नगर्न चुनौति दिए ।

पौडेलले दुई तिहाईको वर्तमान सरकार दिनप्रतिदिन निरिह हुँदै गएको टिप्पणी पनि गरे । ‘यातायात भाडा वृद्धिको निर्णयमा पाँच घण्टा पनि टिक्न नसक्ने सरकारबाट जनताले के अपेक्षा गर्ने’ पौडेलको प्रश्न छ ।

राजपत्रमा प्रकाशित भइसकेको सार्वजनिक खरिद नियमावलीलाई केही हप्तामै संशोधन गरेर सरकारले आफूलाई अत्यन्त कमजोर प्रमाणित गरेको उनको भनाइ थियो । अन्यत्र कहीँ पनि एकपटक राजपत्रमा प्रकाशित भएको नियमावली यति छिटो संशोधन नभएको उदाहरण दिँदै पौडेलले सरकार चलाउनु भाँडाकुटी खेल्नु नभएको धारणा राखे ।