बास्कोटाले भने: ‘दम छ भने मलाई ७० करोड काण्डमा जेल हालेर देखाउ’
काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले आफूमाथि लागेको भ्रष्टाचार आरोप पुष्टि गरेर जेल सजाय दिन चेतावनी दिएका छन् । आफू संचारमन्त्री भएको बेला सत्तरी करोड घुस मोलमोलाई काण्डमा फसेर पद गुमाएका बास्कोटाले आफूलाई जेल हाल्न चुनौती दिएका छन् ।
बास्कोटामाथि सेक्युरिटी प्रिन्टिङ खरिदका लागि व्यापारी र विचौलियासँग कमिशन बार्गेनिङ गरेको आरोप लागेको थियो। विचौलिया विजयप्रकाश मिश्रले बास्कोटाले कमिशन माग्दै गरेको अडियो सार्वजनिक गरेका थिए। यद्यपि उक्त सेक्युरिटी प्रिन्टर खरिद प्रक्रिया नै अघि बढेको थिए।
शनिबार बनेपामा एमाले जिल्ला कमिटीले आयोजना गरेको जिल्लास्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बास्कोटाले दम भए आफूलाई जेल हालेर देखाउन सरकारलाई चुनौती दिएका थिए । उनले सधै आफूमाथि आरोप मात्रै लाग्ने गरेको भन्दै आरोप पुष्टि गर्न समेत चुनौती दिए।
बाँस्कोटाले आफूमाथि लागेको आरोपको छानबिन गरी कारबाहीको दायरामा ल्याउन सरकारलाई चुनौती मात्रै दिएका छैनन् । उनले आफूलाई कसैले केहि गर्न नसक्ने समेत बताएका छन् ।
कार्यक्रममा उत्तेजित बनेका बास्कोटाले भने, ‘मप्रतिको आरोप पुष्टि गरेर जेलमा राख, म सजाय भोग्न तयार छु, होइन भने आरोप मात्रै किन ?, तर यो सरकारसँग त्यो दम छैन ।’