बास्कोटाले भने : उसो भए विप्लवसँग हामी वार्ता गर्दैनौँ - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

बास्कोटाले भने : उसो भए विप्लवसँग हामी वार्ता गर्दैनौँ



काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेत्रविक्रम चन्द विप्लव समूहसँग यहि अवस्थामा बार्ता नहुने बताएका छन् । उनले विभिन्न सर्त रेर्साउने हो भने सरकारले वार्ता नगर्ने स्पष्ट पारे ।

बास्कोटाले भने, ‘छक्का पञ्जा गर्ने भए वार्ता हुँदैन । हामी वार्ता गर्न तयार छौँ, यो कुरा हामीले धेरैपटक भनिसकेका पनि छौं, शक्ति सञ्चयका लागि वार्ता हुँदैन, पक्राउ परेका कार्यकर्ता छाड्नु पर्ने, मुद्दा फिर्ता लिनुपर्ने त्यसपछि उनीहरु वार्तामा आएनन् भने के गर्ने ? ।’

‘फ्याट्टै उहाँहरु हिंसा छाडियो, संविधान मानियो, प्रतिस्पर्धामा आइयो भन्नुहुन्छ भने एकै मिनेटमा वार्ता हुन्छ, सबै समस्या समाप्त हुन्छ,’ बाँस्कोटाले भने,‘त्यसमा केही पनि वैरभाव छैन, पहिला केही बिगारेको भएपनि भइगयो भन्न सकिन्छ, अन्यथा कसैको पछि मात्र लागेर हुँदैन, वार्तामा आउने भए हमेशा स्वागत छ।’ उनले सरकारले पटक-पटक वार्ताका लागि आग्रह गर्दै आएको बताए।

‘वार्ताका लागि हामी ठाउँ दिन्छौँ, छलफल गर्न तयार छौँ तर वार्ता केका लागि गर्नुपर्ने? पक्राउ परेका मान्छे छाडेर फेरि बन्दुक भिर्ने हो भने वार्ता गर्न सकिदैन,’ उनले भने,‘ शान्तिपूर्ण राजनीतिक प्रक्रियामा अवतरण हुने सुनिश्चितता हुँदा सधैँ स्वागत गर्न तयार छौँ, अनौपचारिक वार्ता त चलिरहन्छ’ उनले भने ।

‘उहाँहरुलाई वार्ताको आवश्यकता छ की छैन, के महसुस गर्नु भएको छ?,’ उनले भने,‘वार्ता गर्ने निष्कर्षमा नपुग्ने, यसबाट प्रचारको लाभ लिने, आफ्नो क्षयीकरण भएको शक्तिको पुनर्ताजगी गर्ने, दुनियाँलाई भुलभुलैयामा पार्ने, निष्कर्ष बिना वार्ता गर्ने भन्ने कुरा हिंसालाई वैधता प्रदान गर्ने जस्तो कुरा हुन जान्छ।’

कमजोर धरातलमा उभिएर वार्ता–वार्ता भनेर मात्रै नहुने मन्त्री बाँस्कोटाले स्पष्ट पारे। ‘उहाँहरुको अनुचित गैरजिम्मेवार, असम्भव मागहरुको सम्बोधन हुँदैन,’उनले भने,‘तर उहाँहरु नितान्त सिके राउतको झै हामी शान्तिपूर्ण राजनीतिमा पार्टी दर्ता गरेर प्रतिस्पर्धा गर्ने उद्देश्यका साथ आए राष्ट्रिय अखण्डता, लोकतन्त्रको हकमा त प्रश्न उठ्दैन होला? ’