स्थायी कमिटीले दुईवटै प्रस्ताव अस्वीकार गर्छ: बास्कोटा
विराटनगर : पूर्व-सञ्चारमन्त्री एंव नेकपा केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले नेकपाभित्रको विवाद समाधान संवाद र छलफलबाटै सम्भव रहेको बताएका छन्। प्रेस संगठन मोरङले आइतबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बाँस्कोटाले यस्तो बताएका हुन्।
कार्यक्रममा उनले पार्टीभित्र अहिले बहुमत र अल्पमतका आधारमा छलफल र निर्णय गर्ने पद्धत्ति बसाउन खोजिएको प्रति असन्तुष्टि जनाए। ‘बहुमत र अल्पमतले पार्टीलाई दुर्घटनामा पुर्याउने स्थिति आएको छ’ उनले भने, ‘ यदि बहुमत र अल्पमतका आधारमा छलफल र निर्णय गर्ने पद्धत्ति बसाउन खोजिएको हो भने,त्यसबाट आउने चुनौती पार्टीले व्यहोर्न तयार हुनुपर्छ।’
उनले नेकपाभित्रको विवादको समाधान अल्पमत र बहुमत आधारमा भन्दा पनि सहमतिको आधारमा पार्टीलाई दुर्घटना हुनबाट बचाउन सकिने बताए।
उनले नेकपाभित्रको विवाद संवादबाट समाधान हुन नसके प्रधानमन्त्री र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली मन नपरे आउँदो महाधिवेशन र चुनावसम्म पर्खन पनि आग्रह गरे।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई दुवै पदबाट हटाउने चलखेल भएको बताउँदै चुनाव र महाधिवेशनसम्म पर्खनुपर्ने बताएका हुन्।
‘चुनावमा प्रधानमन्त्रीको उम्मेदवार अघि सारेर गएका थियौं। स्थिरताका लागि अर्को चुनावसम्म फिर्ता बोलाउन मिल्दैन,’ उनले भने, ‘अध्यक्षबाट हटाउने हो भने चार महिनापछि हुने महाधिवेशनसम्म पर्खनुहोस्।’
ओलीनिकट युवाहरुको प्रदेश भेलालाई सम्बोधन गर्न मोरङ आएका बाँस्कोटाले अल्पमत र बहुमतका आधारमा प्रधानमन्त्रीबाट ओलीलाई हटाउन खोजिए पार्टीमा गम्भीर दुर्घटना हुने बताए। लोकतान्त्रिक पद्दतिमा पार्टीले सरकार सञ्चालन गर्न नमिल्ने बताउँदै उनले प्रधानमन्त्री ओलीले पार्टीको उचित सल्लाहका आधारमा सरकार सञ्चालन गरिरहेको बताए।
नेकपा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयमा पेस गरेको छुट्टा–छुट्टै प्रस्ताव स्थायी कमिटीमा पुगको छ। स्थायी कमिटीले दुईवटै प्रस्तावलाई अस्वीकार गरी साझा प्रस्ताव पास गरेर पार्टी एकता जोगाउने उनले बताए।