गृहमन्त्री बादलको कामप्रति बास्कोटाले गरे कडा आलोचना
काठमाडौं- सत्तरी करोड काण्डमा फसेर राजिनामा दिएका पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले गृहमन्त्रालयको काम कारबाही प्रति प्रश्न उठाएका छन् । उनले यात्राको क्रममा बालबालिका र वृद्धवृद्धालाई दुःख दिएको भन्दै गृहमन्त्रालयको आलोचना गरेका छन् ।
उनले गृहमन्त्रालयको ‘जात्रा’ भन्दै आलोचना पनि गरेका छन् । हाल एक जिल्लाबाट अर्को जिल्लामा यात्रा गर्दा सीमा क्षेत्रमा गाडी फेर्नुपर्ने नियमले यात्रुहरुले सास्ती पाएको बास्कोटाको भनाइ छ ।
सामाजिक संजालमा बास्कोटाले ट्वीट गरेका छन्, ‘गृहमन्त्रालयले के जात्रा देखाको ? बच्चा, केटाकेटी, बुढाबुढी एउटा बसबाट झार्ने, एक किलोमिटर हिँडाउने, फेरि अर्काे बस चढाउने ? न चेकजाँच न अरु ? बेकारको सास्ती, के उद्देश्यले यात्रुलाई दुःख दिएको ? तत्काल हटाऊ ।’
एउटा बसबाट झार्ने, एक किलोमिटर हिँडाउने र फेरि अर्को बस चढाउने गर्दा यात्रुहरुले सास्ती पाएकाले तत्काल यस्तो नियम हटाउनुपर्ने बास्कोटाको सुझाव छ ।
सरकारले लकडाउन अन्त्य गरेसँगै जिल्लाभित्र सार्वजनिक गाडीहरु चल्न थालेका छन् । तर, एक जिल्लाको सिमाना सकिएर अर्को जिल्लाको सिमाना सुरु हुँदा यात्रुहरुले गाडी बदल्नुपर्छ ।
यसरी गाडी फेर्दा यात्रुहरु केहीबेर हिँड्नुपर्ने बाध्यता छ । कोरोना संक्रमणको जोखिम रहेको भन्दै हाल जिल्लाभित्र मात्रै सार्वजनिक सवारी साधन चलाउन दिइए पनि ती गाडीहरुमा यात्रा गर्ने यात्रुहरुको स्वास्थ्य परीक्षण भने हुने गरेको छैन ।