वर्षमान पुनले भने: एमालेसँग चुनावी तालमेल हुनसक्छ - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

वर्षमान पुनले भने: एमालेसँग चुनावी तालमेल हुनसक्छ



कपिलवस्तु — नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले एमालेसँग चुनावी तालमेलको ढोका बन्द नभएको बताएका छन् । उनले माओवादीले एमालेसँग चुनावी तालमेल गर्ने ढोका बन्द नगरेको बताएका हुन् ।

माओवादीको लुम्बिनी प्रदेश समितिको बैठकलाई बुधबार सम्बोधन गर्दै पुनले संघीय, प्रदेश र स्थानीय तह निर्वाचनमा वर्तमान सत्ता गठबन्धन आबद्ध कांग्रेस, एकीकृत समाजवादी र संघीय समाजवादीसँग तालमेलमा जोड दिने तर, एमालेसँग पनि चुनावी तालमेलको ढोका बन्द नराख्ने नीति पार्टीको रहेको बताए ।

माओवादी एक्लै चुनाव लड्न सक्षम रहेको तर चुनावी तालमेलका लागि वर्तमान सत्ता गठबन्धन र प्रतिपक्षसँग छलफल हुनसक्ने पुनले बताएका हुन् । ‘सत्ता गठबन्धनका दलहरूबीचमै चुनावी तालमेल गर्नेमा हाम्रो जोड रहन्छ’, उनले भने, ‘एमालेसँग पनि ढोका बन्द छैन । चुनावी तालमेल र सहकार्यलाई अस्वीकार गर्दैनौं, तर आफ्नै बलमा चुनाव लड्न सक्षम छौं ।’

२०७४ सालको निर्वाचनमा बहुमत स्थानीय तह जितेका कांग्रेस र एमालेका जनप्रतिनिधि भ्रष्टाचारमा लिप्त भएको पुनको आरोप थियो । माओवादीले जितेका स्थानीय तहमा राम्रो र नमुनायोग्य काम भएको उनले दाबी गरेका थिए ।

कार्यसम्पादनमा उत्कृष्ट पाँच पालिकामध्ये तीन पालिका माओवादीले जितेका भएबाट पनि माओवादीले स्थानीय तहमा राम्रो गरेको प्रमाणित हुने उनले बताए । ‘देशभर उत्कृष्ट ठहरिएका पाँचमध्ये तीन पालिका हामीले जितेका भएका छन्, यसले पनि हाम्रो क्षमता दर्शाउँछ’, उनले भने ।

माओवादीले जितेका १ सय १६ वटै पालिकामा अन्य दलले जितेकाभन्दा राम्रो काम भएको उनको दाबी थियो ।