मनसुन सक्रिय: भीषण वर्षा हुने, सतर्कता अपनाउन आग्रह - Himal Post Himal Post
  • १७ फाल्गुन २०८१, शनिबार
  •      Sat Mar 1 2025
Logo

मनसुन सक्रिय: भीषण वर्षा हुने, सतर्कता अपनाउन आग्रह



काठमाडौं- देशका विभिन्न स्थानमा भीषण वर्षाका कारन बाढी आउने भन्दै जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले व्यापक सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २ , बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भीषण तथा एक वा दुई स्थानमा अति भीषण वर्षाको सम्भावना रहेको छ। ती प्रदेशका पहाडी भू-भाग र नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

मनसुनी वायुको सक्रिय प्रभाव र तराई भू-भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले बुधबार बिहान देशभर मौसम बदली रहेको छ। प्रदेश १, प्रदेश २‚ बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भीषण वर्षा तथा एक वा दुई स्थानहरुमा अति भीषण वर्षाको सम्भावना रहेको छ ।

बुधबार रातित देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भीषण वर्षा तथा एक वा दुई स्थानहरुमा अति भीषण वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने प्रक्षेपण गरेको छ। देशको पूर्वी तथा मध्यभागमा बुधबारदेखि मनसुनी गतिविधि बढ्ने विभागले जनाएको छ।

विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बुधबार मध्याह्नदेखि मनसुन थप सक्रिय भई देशको पूर्वी तथा मध्य भू–भागहरूमा वर्षा हुने सम्भावना देखिएको बताएका छन्।

उनका अनुसार अब सक्रिय हुने मनसुनले प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका अधिकांश भागमा भीषण वर्षा गराउन सक्छ। यी क्षेत्रमा बाढी र पहिरोको सम्भावना रहेकाले त्यहीअनुरूप पूर्वतयारी गर्न पनि विभागले आग्रह गरेको छ।