किन बर्खास्त भए सातै प्रदेशका प्रमुख ? - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

किन बर्खास्त भए सातै प्रदेशका प्रमुख ?



काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी छन्। आइतबार राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिस अनुसार प्रदेश प्रमुखलाई पदमुक्त गरेकी हुन्।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् जानकारी गराएको छ।

संसदीय चुनाव सम्पन्न भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सातै प्रदेशका प्रमुखलाई कामचालाउ प्रधानमन्त्रीको हैसियतमा नियुक्त गरेका थिए। मुलुक संघीय संरचनामा गएपछि २०७४ माघ ३ गते देउवाले सातै प्रदेशका प्रमुखलाई नियुक्त गरेका हुन्।

देउवाले प्रदेश १ मा प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश २ मा रत्नेश्वरलाल (कायस्थ), प्रदेश ३ मा अनुराधा कोइराला, प्रदेश ४ (गण्डकी) मा बाबुराम कुवँर, प्रदेश ५ मा उमाकान्त झा, प्रदेश ६ (कर्णाली)मा दुर्गाकेशर खनाल र प्रदेश ७ (सुदूरपश्चिम)मा मोहनराज मल्ललाई नियुक्त गरेका थिए।

संघीय सरकारको प्रतिनिधिका रूपमा रहने प्रदेश प्रमुख ‘सेरेमोनियल’ भए पनि उनीहरू निष्क्रिय भएको भन्दै विरोध भएको थियो। प्रदेश प्रमुखले प्रदेश सरकार गठनका लागि आह्वान गर्ने, मुख्यमन्त्रीलाई शपथ गराउने, विधेयक प्रमाणीकरण लगायतका जिम्मेवारी हुन्छ।