शिक्षामन्त्री श्रेष्ठलाई तत्काल बर्खास्त गर्न एमालेभित्रै चर्कियो आवाज - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

शिक्षामन्त्री श्रेष्ठलाई तत्काल बर्खास्त गर्न एमालेभित्रै चर्कियो आवाज



काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई तत्काल पदबाट बर्खास्त गर्न एमालेकै भ्रातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजले सरकारसँग माग गरेको छ।

जातीय भेदभाव तथा छुवाछूत कसुर मुद्दाका आरोपितलाई हिरासतबाट छुटाउने श्रेष्ठलाई तत्काल पदबाट बर्खास्त गर्न माग गरिएको छ । श्रेष्ठले पदको दुरुपयोग गरी आरोपितलाई छुटाएर सरकारी गाडीमा राखेर लागेका थिए ।

सञ्चारकर्मी रूपा सुनारलाई कोठा दिने सहमति गरिसकेर जात थाहा पाउनासाथ बहिष्कार गरेको अभियोगमा पक्राउ परेकी काठमाडौं बबरमहलकी घरधनी सरस्वती प्रधानलाई बुधबार मन्त्री श्रेष्ठ आफैं महानगरीय प्रहरी वृत्ति (सिंहदरबार) पुगेर हिरासतमुक्त गराई आफ्नै झन्डावाल गाडीमा घर पुर्‍याइदिएपछि चौतर्फी आलोचना भइरहेको छ।

यसै क्रममा एमालेको माधव नेपाल–झलनाथ खनालनिकट संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजले घटनाकै दिन बुधबार राति विज्ञप्ति जारी गरी शिक्षामन्त्री श्रेष्ठको ‘हर्कत’विरुद्ध घोर भर्त्सना गर्दै कारबाहीस्वरूप उनलाई पदबाट बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेको हो।

‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कानुनलाई हातमा लिँदै अनुसन्धानका लागि थुनुवामा रहेकी सरस्वती प्रधानलाई जबरजस्ती थुनामुक्त गरी आफ्नै गाडीमा लगेर गएको हर्कतप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ,’ मुक्ति समाजका अध्यक्ष गणेश विकेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधान तथा कानुनविरोधी काम गर्ने मन्त्रीलाई कारबाहीस्वरूप मन्त्रीबाट बर्खास्त गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छौं।’