बर्दिया पुगेर शेरबहादुर र वामदेवबारे केहि नबोली फर्किए ओली
काठमाडौं- कार्यकर्ता भेलाका लागि बर्दिया पुगेका एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओलीले सधै उछितो काड्ने प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टी परित्याग गरेका वामदेव गौतमबारे केहि नबोली फर्किएका छन् ।
देउवा र गौतमको बारेमा केहि नबोलेपनि माधवकुमार नेपालमाथि भने खनिए । उनले माधव नेपालकै कारण आफ्नो पार्टी सरकारबाट हट्नु परेको बताएका छन्। गुलरियामा आयोजित भेलालाई सम्बोधन गर्ने क्रममा अधिकांश समय उनले शेरबहादुर देउवाको सरकार र उनलाई सहयोग पुर्याउने नेता नेपालप्रति कटाक्ष गरे।
उनले प्रचण्ड अस्थिर नेता भएको उल्लेख गर्दै कुर्सीमा एकछिन बस्नु भने पनि बस्न नसक्ने नेता भएको बताए। संविधानसभाको निर्वाचनपछि पहिलोपल्ट बर्दिया पुगेका ओलीले नेता बामदेव गौतम र प्रधानमन्त्री देउवाबारे कुनै टिप्पणी नै नगरी बुधवार बृहत कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए।
नेपाली काँग्रेसको सरकार जनादेशले नभई परमादेशले सरकार बनेको उल्लेख गर्दै सुखी नेपाली समृद्ध नेपालको नारा सार्थक पार्न लागेको एमालेको सरकार अपाच्य भएर मोर्चा बनाएर परमादेशमार्फत् एमालेलाई प्रतिपक्ष बनाएको ओलीले दाबी गरे।
विश्वको मुल्याकंनमा दशवटा आर्थिक वृद्धिदरमा नेपाल परेको उनले बताए। ‘हामी पछाडी परेका थियौं,’ उनले भने, ‘हाम्रो सरकारको पालामा लामो समयदेखि पछि परेको देशमा विकास भइरहेको थियो।’ स्वास्थ्य, शिक्षा, रोजगारी र विपन्नका लागि जनता आवास कार्यक्रमले गरिबको घर बनेको उनले जिकिर गरे। ‘टिन हालेर गरिब बस्तीमा घर बनेको छ’ सम्बोधन गर्ने क्रममा उनले भने ,‘गरिबको घर एमाले सरकारको पालामा बनेका हुन्।’