बर्दगोरियामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न , ३ सय ९२ जनाले लिए लाभ - Himal Post Himal Post
  • १२ पुष २०८१, शुक्रबार
  •      Fri Dec 27 2024
Logo

बर्दगोरियामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न , ३ सय ९२ जनाले लिए लाभ



गोविन्द बीसी / बौनिया ।
कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर-३ का ३ सय ९२ स्थानीय बासिन्दाले स्वास्थ्य शिविरबाट स्वास्थ्य सेवा लिएका छन् ।

निःशुल्क स्वास्थ्य शिविरबाट खैरेनी, रानीकुण्डा र बुटकौवाका ज्येष्ठ नागरिक बढीजसो लाभान्वित भएको बताइएको छ ।

उनीहरूको स्वास्थ्य शिविरमा निशुल्क रूपमा आँखा परीक्षण गरिएको छ भने, चेकजाँचसंगै औषधी समेत वितरण गरिएको छ ।

वडा नम्बर-३ वडा कार्यालयको आयोजनामा दोदोधरा स्वास्थ्य चौकी र धनगढी नेत्रालय आँखा अस्पताल प्रालिको संयुक्त सहकार्यमा स्वास्थ्य शिविर संचालन गरिएको हो ।

वडा कार्यालयको आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत कार्यक्रम बमोजिम स्वास्थ्यकर्मीको टोलीबाट ज्येष्ठ नागरिकको स्वास्थ्य उपचार गरिएको वडा सदस्य टंकराज ओलीले जानकारी दिए । उनले आर्थिक अवस्था कमजोर भएका र उपचार गर्न नसक्ने स्थानीय बासिन्दाको स्वास्थ्यमा सहज पहुँच पुर्याउन शिविर आयोजना गरिएको बताए ।

सोही वडा स्थित जगदम्बिके भगवती माविमा शनिबार आयोजित स्वास्थ्य शिविरमा ५० देखि १०५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले समेत सेवा लिएको वडासचिब रामभजन डंगौराले जानकारी दिए ।

ग्रामीण स्तरमा रहेका आँखाको समस्याका बिरामीको सहज उपचारका लागि शिबिर संचालन गरिएको धनगढी नेत्रालय आँखा अस्पताल प्रालिका कार्यक्रम संयोजक त्रिलोक पाण्डेयले बताए । शिबिरमा २ सय ४० महिला र १ सय ३० पुरुष गरि ३ सय ७० जनाले आँखाको चेकजाँच गरेका छन् ।

जसमध्ये ४७ जना जटिल खालको आँखाको समस्या भएका बिरामीको सल्यक्रिया गर्नुपर्ने र १ सय ४० जना सामान्य अवस्थाका बिरामीलाई औषधी र चस्मा वितरण गरिएको बर्दगोरिया गाउँपालिकाका जनस्वास्थ्य अधिकृत कैलाश कुमार रावतले जानकारी दिए । शिबिरमा आँखाको मासु पलाएको, जलबिन्दु र मोतिबिन्दु लगायतका बिरामीको उपचार गरिएको छ ।

नेत्रालय धनगढीका नेत्र सहायक डाक्टर पुजन चापागाईं , प्रकाश राना, बर्दगोरिया गाउँपालिकाका जनस्वास्थ्य अधिकृत कैलाश कुमार रावत, दोदोधरा स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक कृष्णदेव जोशी सहित सहित १२ जना स्वास्थ्यकर्मीको टोली र गाउँपालिकामा कार्यरत कर्मचारी उपचारमा संलग्न रहेको बताइएको छ ।
नेत्रालय धनगढीले यसअघि पनि समय समयमा कैलाली जिल्लाका विभिन्न स्थानमा गाउँपालिका, नगरपालिकासंग समन्वय गरि शिबिर संचालन गरि आँखा उपचार गर्दै आएको थियो ।

शिबिरबाट सल्यक्रिया गर्नुपर्ने अवस्था बिरामीको पनि धनगढी नेत्रालय आँखा अस्पताल प्रालिमा निशुल्क अप्रेशन गरिने अप्टिकल असिस्टेन्ट गोपाल ठगुन्नाले बताए । सांकेतिक तस्वीर :