बार मतगणना (पछिल्लो अपडेट) : लोकतान्त्रिक समूहले बढायो अग्रताको दुरी
काठमाडौं । नेपाल बार एसोसिएसनको नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्षका प्रत्यासी चण्डेश्वर श्रेष्ठ र सुनिल पोखरेलबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।
पछिल्लो परिणामअनुसार लोकतान्त्रिक समूहका पोखरेलले ७८ मतले अग्रता लिएका छन् । इलाम, झापा र विराटनगरको मतगणना सकिँदासम्म प्रगतिशील समूहका श्रेष्ठले ८७ मतले अग्रता लिएका थिए ।
गएरातिसम्मको परिणाम अनुसार पोखरेलले १ हजार ४ सय ३१ र श्रेष्ठले १ हजार ३ सय ५३ मत पाएको निर्वाचन समितिका शिव रिजालले जानकारी दिए ।
यसैगरी महासचिवमा पनि लोकतान्त्रिक प्यानलकै लिलामणि पौडेल प्रगतिशिल प्यानलका सुरेन्द्र थापाभन्दा १३९ मत अन्तरले अगाडि छन् । पौडेलले १ हजार ४ सय ३२ र थापाले १ हजार २ सय ९३ मत पाएका छन् ।
अब कैलाली, कञ्चनपुर, नेपालगञ्ज, सुर्खेत, दाङ घोराही र काठमाडौं उपत्यकाको मत गणना बाँकी छ । मत गणना बुधबार बिहान ९ बजेबाट पुनः सुरु हुने छ ।
केन्द्रीय कार्यसमितिका लागि काठमाडौं उपत्यकाका साथै देशभरिका ३५ मतदान केन्द्रमा शनिबार मतदान भएको थियो । एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, एक महिला उपाध्यक्ष र सातै प्रदेशबाट एक/एक गरी आठ उपाध्यक्ष तथा १४ केन्द्रीय सदस्यका लागि निर्वाचन भएको थियो ।
निर्वाचन समितिका अनुसार २५ सदस्यीय कार्यसमितिको लागि ६३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । नेपाल बार एसोसिएसनका देशभर १० हजार ३१३ मताधिकार प्रयोग गरेका थिए ।