बार चुनावको मतगणना सम्पन्न
काठमाडौं– कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मत गणना सम्पन्न भएको छ । पछिल्लो मत परिणाम अनुसार प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठले ३६७७ ल्याएका छन् ।
निर्वाचन आयोगको आधिकारिक घोषणा गर्न बाँकी रहे पनि उनी निकट व्यवसायीहरुले भने जित भएको भन्दै खुशीयाली मनाउन थालेका छन । श्रेष्ठ नेकपा निकट प्रगतिशील, पेशागत तथा समावेशी समूहका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका हुन् । उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक प्यानलका सुनिल पोखरेलले पछिल्लो मत परिणाम अनुसार ३ हजार ५ सय ८३ मत ल्याएका छन् ।
महासचिवमा भने लोकतान्त्रिक समूहका लीलामणि पौडेल अघि छन् । त्यसैगरी प्रगतिशील समूहकै तर्फबाट कोषाध्यक्षमा रुद्रप्रसाद पोखरेल र महिला उपाध्यक्षमा रक्षा बस्याल पनि अगाडि छन् ।
पच्चिसौँ केन्द्रीय कार्यसमितिका लागि गत शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन भएको थियो । एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, एक महिला उपाध्यक्ष र सातै प्रदेशबाट एक एक गरी आठ उपाध्यक्ष तथा १४ केन्द्रीय सदस्यका लागि निर्वाचन भएको हो ।
२५ सदस्यीय कार्यसमितिको लागि ६३ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।निर्वाचनमा देशभर बारका १० हजार ३१३ मतदातामध्ये ८ हजार ३२९ मतदाताले मतदान गरेका थिए ।