बन्ने भो पहलमानपुर-लालबोझी सडक, यस्तो छ नगरपालिकाको प्रतिबद्धता

विशाल पाण्डेय/कैलाली-
पहलमानपुर, लालबोझि सडकको तत्कालै मर्मत गरिने भएको छ । सडक हिलाम्य भएको भन्दै स्थानीयले आइतबार पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्दै मर्मतको लागि ज्ञापनपत्र बुझाएपछि नगरपालिकाले तत्कालका लागि सडक मर्मत गरी आवत जावतमा सहजता ल्याउने प्रतिबद्धता जनाएको छ ।
नगरपालिकाले सोमबार एक विज्ञप्ति जारी गर्दै घोडाघोडी नगरपालिकाले पहलमानपुर लालबोझी सडक तत्काल मर्मत गरी दिर्घकालिन रुपमा सडकको स्तरउन्नती गर्ने जनाएको छ ।

हिलाम्य सडकका कारण आवतजावतमा समस्या भएको भन्दै आइतबार घोडाघोडी नगरपालिका–११ का स्थानीयले एक घण्टाका लागि पहलमानपुर मा पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध गरेका थिए ।
घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीद्बारा हस्ताक्षर गरिएको विज्ञप्तिमा, पहलमानपुर लालबोझी सडक खण्ड तत्काल मर्मत गर्ने र आर्थिक बर्ष २०७७/०७८ कालोपत्रेको लागि पहल गर्ने उल्लेख गरिएको छ ।
यस्तै पहलमानपुर स्वास्थ्य चौकीमा रहेको एम्बुलेन्स तत्काल सञ्चालन गर्ने र पहलमानपुरमा राष्ट्रिय बैंकको शाखा स्थापना गर्ने भन्दै विज्ञप्तिमा उल्लेख गरिएको छ ।


