यसरी हुँदैछ भारत र न्युजिल्यान्डबिचको रोकिएको खेल - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

यसरी हुँदैछ भारत र न्युजिल्यान्डबिचको रोकिएको खेल



एजेन्सी — भारत र न्युजिल्यान्डबीचको मंगलबार पहिलो सेमिफाइनल खेल वर्षाले गर्दा स्थगित भएको छ । म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा टस जितेर ब्याटिङ गरिरहेको न्युजिल्यान्डले ४६.१ ओभरमा ५ विकेट गुमाई २ सय ११ रन बनाइरहेको समयमा खेल वर्षाले रोकिन पुगेको थियो ।

खेल रोकिँदा रस टेलर ६७ र टम लाथम ३ रन बनाई क्रिजमा थिए । त्यसपछि पटक–पटक वर्षाले खेल अवरुद्ध बनाउँदा भारतले २० ओभर खेल्ने मौका पनि छाडेन । चार घण्टा पनि खेल नभएपछि स्थगित हुन पुगेको हो । वैकल्पिक दिन राखिएकाले रोकिएको खेल बुधबार हुनेछ । न्युजिल्यान्डले इनिङ्सको बाँकी २३ बल खेलेपछि भारत लक्ष्य लिएर मैदानमा आउने छ ।

बुधबारको मौसम मंगलबारभन्दा पनि खराब रहने मौसम अनुमानले खेल हुनेमै शंका गरिएको छ । खेल पूरा नहुन सकेमा भारत फाइनलमा पुग्नेछ । १० राष्ट्रसम्मिलित राउन्ड रोबिनको खेलमा भारत शीर्षस्थानमा र न्युजिल्यान्ड चौथो स्थानमा थिए ।राउन्ड रोबिनमा चार खेल वर्षाले पूरै बिथोलेको थियो, जहाँ कुनै वैकल्पिक दिन राखिएको थिएन ।

भारतले इनिङ्सको पहिलो बलमै भुवनेश्वर कुमारको बलमा मार्टिन गुप्टिलमाथि एलबीडब्लू अपिल गर्दै रिभ्यू लिएको थियो । बल लेग स्टम्पबाहिर गइरहेको पाइएपछि भारतले रिभ्यू गुमाउनुपरे पनि कसिलो बलिङ गरेर न्युजिल्यान्डको ब्याटिङलाई बाँधेको थियो । निकै खराब फर्ममा रहेको गुप्टिलले १४ बल खेल्दै १ रनमात्र बनाउन सके । ५१ बलमा २८ रन बनाएका हेनरी निकोलसलाई रवीन्द्र जडेजाले बोल्ड गरे ।

निकोलसले कप्तान केन विलियम्सनसँग मिलेर न्युजिल्यान्डको इनिङ्स उकास्ने प्रयास गरेका थिए । राम्रो लयमा रहेको विलियम्सनले ९५ बलमा ६७ रन बनाए । उनले ५ चौका प्रहार गरे । जिम्मी निसम १२ र कोलिन डी ग्रान्डहोम १६ रन बनाई आउट भए । टेलरले ८५ बल खेली ३ चौका र १ छक्का प्रहार गरे । वर्षाले खेल रोकिनुअघि न्युजिल्यान्डले अन्तिम ओभरमा ४८ रन जोडेपछि टोलीको स्कोर २ सय रन नाघेको थियो ।

भारतको बलिङ निकै अनुशासित रहेको थियो । जसप्रित बुमराहले ८ ओभरमा १ मेडन राख्दै २५ रन खर्चे । जडेजाले पनि १० ओभरमा ३४ रनमात्र दिए । भुवनेश्वरले ८.१ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । युजभेन्द्र चहलले १० ओभरमा ६३ रन खर्चेर १ विकेट लिने अर्का खेलाडी थिए ।