बाँकेमा कोरोनाबाट थप एक पुरुषको मृत्यु - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

बाँकेमा कोरोनाबाट थप एक पुरुषको मृत्यु



बाँके- बाँकेमा कोरोना संक्रमणबाट मंगलवार राति एक जना ३७ वर्षीय पुरुषको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ३७ वर्षीय पुरुषको मंगलवार राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार स्वासप्रस्वासमा समस्या भएपछि भदौ ८ गते बिहान १० बजे नेपालगञ्ज मेडिकल कलेजमा ती व्यक्तिलाई भर्ना गराइएको थियो । कोरोनाको लक्षण देखिएपछि स्वाब लिएर परीक्षण गर्दा मंगलवार संक्रमण पुष्टि भएको थियो ।

उपचारकै क्रममा स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि शिक्षण अस्पताल नेपालगञ्जबाट भेन्टिलेटरसहित शिक्षण अस्पताल कोहलपुर सारेर उपचार गर्दागर्दै मंगलवार राति १:३० बजे उनको मृत्यु भएको श्रेष्ठले बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले निधनप्रति दुःख व्यक्त गर्दै मृतकको घरपरिवार र नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापनको तयारी भइरहेको जानकारी दिए ।

यो सँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । यसअघि नरैनापुर गाउँपालिका–५ निवासी २५ वर्षीय युवक, बैजनाथ गाउँपालिका–६ निवासी ४६ वर्षीया महिला, कोहलपुर नगरपालिका–२ निवासी ७० वर्षीया महिला र नेपालगञ्ज–५ निवासी ६२ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भइसकेको छ । रासस