सीईओले नै गरे बैंकको करोडौँ हिनामिना - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

सीईओले नै गरे बैंकको करोडौँ हिनामिना



काठमाडौं- धनकुटामा प्रधान कार्यालय रहेको सप्तकोशी विकास बैंकमा १५ करोडभन्दा बढी हिनामिना भएपछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) नवीन सुवेदी सहित चार कर्मचारी पक्राउ परेका छन्।   

प्रहरीको अनुसन्धानमा ब्यांंकबाट १५ करोड ७५ लाख ४० हजार हिनामिना भएको पाइएको थियो। त्यसमा थप अनुसन्धान गर्न प्रहरीले बुधबार अपराह्न विराटनगर-७ स्थित ब्यांकको कार्यालयबाटै ४७ वर्षीय सुवेदी सहित तीन जना कर्मचारीलाई पक्राउ गरेको हो। रेमिट शाखाका अधिकृत २९ वर्षीय हिमाल भट्टराईलाई केही दिनअघि नै प्रहरीले पक्राउ गरेको थियो।

सीईओ सुवेदी सहित लेखा प्रमुख ४८ वर्षीय देवीप्रसाद भण्डारी र ३६ वर्षीय अधिकृत अमित थापा मगरलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। रकम हिनामिनाबारे अनुसन्धान गर्न उनीहरूलाई पक्राउ गरिएको मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताए।

पक्राउ परेका भट्टराईलाई अभद्र व्यवहारमा मुद्दा चलाएर प्रहरीले अनुसन्धान गरिरहेको छ। सीईओ सुवेदीका आफन्त बबिता सुवेदीको खातामा मात्रै १४ करोड र भट्टराईको खातामा एक करोड ट्रान्सफर भएको पाइएको प्रहरीको भनाइ छ। चारै जना विरुद्ध ब्यांकिङ कसूरमा मुद्दा चलाउने प्रहरीको तयारी छ।

रेमिटको रकम ६ वर्षदेखि हिनामिना भएको पत्ता लागेपछि रेमिट शाखामा कार्यरत भट्टराई केही दिनअघि पक्राउ परेका थिए। हिनामिना भएको रकम सीईओ सुवेदीका आफन्त बबिता सुवेदी र हिमाल भट्टराईको खातामा जम्मा भएको पाइएपछि ब्यांकले नेपाल राष्ट्र ब्यांंक र प्रहरीलाई जानकारी गराएको थियो।

बैंकका अध्यक्ष अर्जुन बरालका अनुसार, निमित्त कार्यकारी अधिकृत कुमार खड्काको संयोजकत्वमा छानबिन गरी प्रतिवेदन तयार गरिएको छ। ‘‘छानबिन भइरहेको छ, प्रमाणित भए अपराधीहरू कारबाहीमा पर्छन्,’’ अध्यक्ष बरालले भने, ‘‘हिनामिनामा कहाँ कसको कमजोरी छ, हामीले छानबिन प्रतिवेदनमा लेखेर बुझाएका छौं।’’