बैंकको रकम हिनामिना: सेनाका सहायक रथी डा. रमेश मुछिए - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

बैंकको रकम हिनामिना: सेनाका सहायक रथी डा. रमेश मुछिए



कृषि विकास बैंकको रकम हिनामिना प्रकरणमा नेपाली सेनाका बहालवाला सहायक रथी डा. रमेश विष्ट पनि मुछिएका छन् । बैंकको न्युरोड शाखाबाट हिनामिना गरिएको करिब पाँच करोडमध्ये ३३ लाख सहायक रथी विष्टको बैंक खातामा पाइएपछि उनीमाथि अनुसन्धान सुरु भएको खबर आजको नयाँ पत्रिकामा टेकराज थामीले लेखेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख डिआइजी पुष्कर कार्कीले बैंकबाट हिनामिना भएकोमध्ये ३३ लाख सहायक रथी विष्टको खातामा भेटिएको बताए । ‘कृषि विकास बैंक न्युरोड शाखामा हिनामिना भएको रकममध्ये केही सहायक रथी विष्टको बैंक खातामा भेटियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ,’ उनले भने ।

पुष्टि भए कारबाही
नेपाली सेनाका प्रवक्ता सहायक रथी नैनराज दाहालले भने, ‘बैंकको रकम हिनामिना सम्बन्धमा सेनाका जिम्मेवार अधिकारी मुछिएको भन्ने सूचना प्राप्त भएको छ । घटनाबारे जाँचबुझ हुँदै छ । पुष्टि भए कारबाही अघि बढाइनेछ ।’

पक्राउ
बैंकको न्युरोडस्थित शाखा कार्यालयबाट चार करोड ९१ लाख हिनामिना भएको थियो । प्रहरीका अनुसार घटना मुख्य योजनाकार नागार्जुन– १ का ३२ वर्षीया दीपिका रेग्मी हुन् । उनी बैँकमा सहायक ट्रेलरका रूपमा कार्यरत थिइन् । घटनामा संलग्न काठमाडौं– ३२ का प्रेमहरि ढुंगेल, टोखा– ८ का गोपाल गिरी, चन्द्रागिरी– ५ का महेश्वर मरहट्ठा, काठमाडौं– १६ का प्रकाश घतानी र काठमाडौं– ३२ का रमेशकुमार थापालाई प्रहरीले पक्राउ गरिसकेको छ ।