निषेधाज्ञामा पनि बैंकिङ सेवा र सेयर बजार बन्द नहुने - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

निषेधाज्ञामा पनि बैंकिङ सेवा र सेयर बजार बन्द नहुने



काठमाडौं- गतवर्ष लकडाउनको समयमा सेयर बजार झण्डै ३ महिना बन्द गरिएको थियो । यसपटक भने निषेधाज्ञामा पनि बैंकिङ सेवा र सेयर बजार भने बन्द नहुने भएका छन्।

उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लगाउने तयारी चलिरहेका बेला बैंकिङ क्षेत्र अत्यावश्यक सेवा अन्तर्गत पर्ने भएकाले यो सेवा बन्द नहुने भएको हो। नेपाल राष्ट्र बैंकले स्वास्थ्यसम्वन्धी मापदण्ड पालना गरेर सेवा प्रवाह गर्न निर्देशन दिएको छ।

जिल्ला प्रशासन कार्यालयहरुले १६ गतेदेखि निषेधाज्ञा गर्ने तयारी गरेका छन्। प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपायहरु अवलम्वन गर्न राष्ट्र बैंकले भनेको छ।

सेवाग्राहीबीच भौतिक दूरी कायम हुने व्यवस्था मिलाएर सेवा प्रवाह गर्न तथा सेवाग्राहीको आवतजावत सकेसम्म कम हुनेगरी सेवा प्रदान गर्न भनेको छ। सकेसम्म विद्युतीय माध्यमबाट कारोबार गर्न गराउन पनि राष्ट्र बैंकले आग्रह गरेको छ।

संचालित एटिएम बुथहरुबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरणका लागि ढोका खुला राखी सेनिटाइजर तथा टिस्यु पेपरको व्यवस्था गर्न भनिएको छ।

यस्तै निषेधाज्ञा गरिए पनि सेयर बजार पनि बन्द नहुने भएको छ। एक विज्ञप्ति जारी गर्दै नेप्सेसँग गर्नुपर्ने कामकारबाहीका लागि भौतिक उपस्थितिलाई कम गर्ने, नेप्सेमा पेश गर्नुपर्ने कागजातहरु यथासम्भव इमेलमार्फत अभौतिक रुपमा पठाउने व्यवस्था गर्न भनेको छ।

नेप्सेले ब्रोकरेज सेवा संचालन गर्दा मापदण्ड पालना गर्न निर्देशन दिएको छ।