शकिब नायक बन्दा बंगलादेशको जित - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

शकिब नायक बन्दा बंगलादेशको जित



एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले तेस्रो जित निकालेको छ ।

साउथह्याम्पटनमा सोमबार भएको खेलमा अफगानिस्तानलाई ६२ रनले पराजित गर्दै बंगलादेशले तेस्रो जित निकालेको हो ।

द रोजबल क्रिकेट मैदानमा बंगलादेशले दिएको २६३ रनको मध्यम लक्ष्य पछ्याएको अफगानिस्तान ४७ ओभरमा अलआउट हुँदै २०० रनमा समेटियो ।

अफगानिस्तानका लागि शामीउल्लाह शिनवारीले अविजित ४९ रन जोड्दा कप्तान गुल्बादीन नाइबले ४७ रन बनाए ।

यस्तै रहमत साहले २४, नाजिब उल्लाहले २३ तथा अस्घर अफगानले २० रन बनाए । अफगानिस्तानलाई सस्तैमा रोक्न बंगलादेशका शकिब अल हसनले किफायती बलिङ गरे ।

अफगानिस्तानविरुद्ध अलराउण्डर प्रदर्शन गरेका हसनले १० ओभरमा २९ रन खर्चेर ५ विकेट लिए । यस्तै मुस्ताफिजुर रहमानले २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ७ विकेट गुमाएर २६२ रन बनाएको थियो ।

बंगलादेशका लागि मुशफिकर रहिम र शकिब अल हसनले अर्धशतकीय इनिङ्स खेले । रहिमले ८३ रन जोड्दा हसनले ५१ रन बनाए ।

यस्तै तामिम इकबालले ३६, मोसाडेक होसेनले ३५ तथा ममुदउल्लाहले २७ रन जोडे ।

अफगानिस्तानका मुजिब उर रहमानले ३ विकेट लिए । गुल्बादीन नाइबले २ विकेट लिए ।

जितसंगै बंगलादेशले शीर्ष चारमा पुग्दै सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ ।