बङ्गलादेशले नमज्जाले हारेको त्यो खेल - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

बङ्गलादेशले नमज्जाले हारेको त्यो खेल



एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा घरेलु टोली इङ्ग्ल्यान्डले बङ्गलादेशलाई १ सय ६ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

जितमा लागि ३ सय ८७ रनको विशाल लक्ष्य पछ्याएको बङ्गलादेश ४८.५ ओभरमा अल आउट हुँदै २ सय ८० रनमा समेटियो। बङ्गलादेशका लागि अलराउण्डर सकिब अल हसनले उत्कृष्ट शतक प्रहार गरेपनि टोलीको हार टार्न सकेनन्। ४० ओभरको तेस्रो बलमा बेन स्टोक्सले बोल्ड आउट गर्नुअघि सकिबले १ सय १९ बलमा १२ चौका र १ छक्का सहित १ सय २१ रन जोडे पनि टोलीको जितका लागि प्राप्त रन हुन सकेन। सकिबलाई अन्य खेलाडीले राम्रो साथ दिन नसक्दा बङ्गलादेशले फराकिलो हार बेहोर्नु परेको हो।

ओपनर सौम्य सरकारलाई जोफ्रा आर्चरले चौथो ओभरको दोस्रो बलमा २ रनमा बोल्ड आउट गरे। १२ ओभरको अन्तिम बलमा मार्क उडले कप्तान इओन मोर्गनबाट अर्का ओपनर तामिम इकवाललाई १९ रनमा क्याच आउट गराए। विकेटकिपर मुश्फिकुर रहिमले ५० बलमा २ चौका सहित ४४ रन बटले। मोहम्मद मिथुन डक, महमदुल्लाह २८, मोसाद्देक हसन २६, मेहेदी हसन मिराज १२ र मोहम्मद सैफुद्दीन ५ रनमा बोल्ड आउट भए।

इङ्ग्ल्यान्डका लागि बेन स्टोक्सले ६ ओभरमा १ मेडन सहित २३ रन खर्चेर ३ विकेट लिए। त्यस्तै जोफ्रा आर्चरले ८.५ ओभरमा २ मेडन सहित २९ रन खर्चेर ३ विकेट हात पारे। मार्क उड २, लियाम प्यान्केट र आदिल राशीदको नाममा समान १ विकेट रह्यो।

त्यस अघि कार्डिफमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इङ्ग्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ८६ रन बनायो। इङ्ग्ल्यान्डलाई विशाल योगफल तयार पार्न ओपनर जोसन रोयले उत्कृष्ट आक्रमक शतक प्रहार गरे। रोयले २७ ओभरको पाँचौ बलमा चौका प्रहार गर्दै ९२ बलमा आफ्नो वान डे करियरको नवौँ शतक पूरा गरेका थिए।

आक्रामक रूपमा ब्याटिङ गरेका रोयले ३५ ओभरको चौथो बलमा मेहदी हसन मिराजलाई लगातार चार छक्का प्रहार गर्ने धुनमा मोर्तजाबाट १ सय ५३ रनमा क्याचआउट हुन पुगे। रोयले १ सय २१ बलमा १४ चौका र ५ छक्का प्रहार गरे। रोयले पहिलो विकेटका लागि ओपनर जोनी वेयरस्टोसँग १९।१ ओभरसम्म १ सय २८ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए।

यी दुईबीचको साझेदारी मोर्तजाले मेहदी हसनबाट बेयरस्टोलाई ५१ रनमा क्याच गराउँदै तोडेका थिए। उनले ५० ओभरमा ६ चौका प्रहार गरे। जो रुटलाई मोहम्मद सैफुद्दीनले २१ रनमा बोल्ड आउट गरे। जस बटलरले पनि आक्रमक ब्याटिङ गर्दै ४४ बलमा ४ छक्का र २ चौका सहित ६४ रनमा क्याच आउट भए।

कप्तान इओन मोर्गन पनि ठूलो शट खेल्ने धुनमा ४७ ओभरको पाँचौ बलमा बाउन्डीलाईन नजिकै सौम्य सरकारबाट क्याच आउट हुनुअघि ३३ बलमा १ चौका र २ छक्का सहित ३५ रनमा आउट भए। तल्लोक्रममा क्रिस वोक्सले ८ बलमा २ छक्का सहित १८ रनमा अविजित रहे। लियाम प्यान्केट ९ बलमा ४ चौका र १ छक्का सहित २७ रनमा नट आउट रहे। बेन स्टोक्स ६ रनमा आउट भए।

बङ्गलादेशका लागि मेहेदी हसन मिराज र मोहम्मद सैफुद्दीनले समान २ विकेट लिए। मुस्ताफिजुर रहमान र मशरफे मोर्तजाको नाममा पनि समान १ विकेट रह्यो।

यो बङ्गलादेशको दोस्रो हार हो। पहिलो खेलमा दक्षिण अफ्रिकामाथि जित निकालेको थियो। न्युजिल्यान्डसँग भने बङ्गलादेश पराजित हुन पुगेको थियो। बङ्गलादेशले आफ्नो चौथो खेल आगामी मङ्गलबार श्रीलङ्कासँग खेल्ने छ।

घरेलु टोली इङ्ग्ल्यान्डको यो दोस्रो जित हो। पहिलो खेलमा दक्षिण अफ्रिकालाई हराएको इङ्ग्ल्यान्ड पाकिस्तानसँग भने स्तब्ध भएको थियो। इङ्ग्ल्यान्डले आफ्नो चौथो खेल शुक्रबार वेस्ट इन्डिजको सामना गर्ने छ।