अधिवक्ता गोविन्द बन्दी नेकपा एसको केन्द्रीय सदस्यबाट ‘आउट’
काठमाडौं- नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य पदबाट वरिष्ठ अधिवक्ता गोविन्द बन्दी आउट भएका छन् । यसअघि केन्द्रीय समितिमा रहेका अधिवक्ता बन्दीको नाम नेकपा एसको केन्द्रीय सदस्यबाट हटाइएको हो ।
असोज २९ मा सर्कुलर अनुसार बन्दीलाई केन्द्रीय सदस्य तथा कानून विभागको प्रमुख बनाइएको थियो । असोज पहिलो साता बसेको बैठकले उनलाई केन्द्रीय सदस्य तथा कानून विभागको प्रमुख निर्णय गरेको थियो ।
तर सो सर्कुलरको पार्टीभित्रै तीब्र विरोध भएपछि संशोधनसहित बुधवार जारी गरिएको अर्को सर्कुलरमा बन्दीका नाम छैन । कानून विभाग प्रमुखको जिम्मा पनि गंगालाल तुलाधरलाई दिइएको छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका पारिवारिक नातेदार समेत रहेका बन्दीलाई कानूनमन्त्री बनाउने गठबन्धनमा सहमति भए पनि अन्तिममा उनी बन्न सकेनन् ।
बन्दी आफैंले केन्द्रीय कमिटी सदस्य बन्न अश्वीकार गरेपछि उनको नाम हटाइएको नेकपा एस स्रोतले जनाएको छ । एमाले निकट वकिलहरुमध्ये शम्भु थापा,टीकाराम भट्टराई,गोविन्द बन्दी लगायतको ठूलो टिम केपी ओलीविरुद्ध परमादेश जारी गराउन र नेकपा एमालेको वैधानिकता सम्बन्धी विवादमा माधव नेपाल पक्षमा सक्रियतापूर्वक उभिएका थिए ।