एमालेको बन्दसत्रमा लफडा - Himal Post Himal Post
  • २५ पुष २०८१, बिहीबार
  •      Thu Jan 9 2025
Logo

एमालेको बन्दसत्रमा लफडा



काठमाडौँ- नेकपा एमालेको जारी १०औं महाधिवेशनको बन्द सत्रमा नेतृत्व चयनको सम्पूर्ण अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिइएपछि तनावको अवस्था बनेको छ । महासचिव विष्णु पौडेलको प्रस्तावलाई हलका प्रतिनिधिहरूले ताली बजाएर अनुमोदन गरेपछि तनावको अवस्था बनेको हो ।

पौडेलले पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली प्रस्ताव गर्ने अधिकार केपी ओलीलाई दिने प्रस्ताव राखेका थिए । उक्त प्रस्तावमा अधिकांश प्रतिनिधिले ताली बजाएर अनुमोदन गरे पनि उपाध्यक्ष भीम रावलले भने विरोध जनाए । रावलको पक्षमा अरु केही प्रतिनिधि पनि उभिएका थिए ।

उनीहरूले चुनाव गराउनुपर्ने माग गर्दैआएका छन् । सौराहाको होटेल सेभेन स्टारमा जारी बन्दसत्रमा अध्यक्ष ओलीसहित नेताहरू बोलेको आजाव बाहिरसम्म प्रशारण गरिए पनि विवाद उत्पन्न भएपछि बाहिरको आवाज बन्द गरिएको छ ।

बन्दसत्रमा ओलीको झण्डै तीन घण्टा लामो भाषणपछि पौडेलले नेतृत्व चयनको अधिकारी ओलीलाई नै दिने प्रस्ताव राखेका थिए । ओलीले भने प्रतिनिधिहरूलाई प्रतिस्पर्धा नगर्न बारम्बार आग्रह गर्दैआएका थिए । बरु एकताको सन्देश दिनुपर्ने भन्दै उनले कतिपयलाई भेटेरै परामर्श गरेका थिए ।

अध्यक्षमा उम्मेदवारी घोषणा गरेका नेता रावलले भने आफ्नो अडानबाट पछि नहटेको बतउँदैआएका थिए । पछिल्लो समय ओलीले बन्दसत्रमा भाषण गरिरहँदा बाहिर भने रावलले प्रतिनिधिहरूसंग भोट मागिरहेका देखिन्थे ।