बन्दै गरेको घर धितो राखेर भूकम्पप्रभावितले तीन लाख ऋण पाउने - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

बन्दै गरेको घर धितो राखेर भूकम्पप्रभावितले तीन लाख ऋण पाउने



असोज २४,/ काठमाडौं 

भूकम्पप्रभावितहरुले हाल बनाउँदै गरेको घर नै धितो राखी तीन लाख रुपैयाँ निर्ब्याजी ऋण पाउने भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले सामूहिक जमानीमा ऋण उपलब्ध गराउने कार्यविधि २०७४ लाई संशोधन गर्दै हाल बनिरहेकै घर धितो राखी ऋण दिन पाउने व्यवस्थाको निर्णय गरेको हो।

‘सामूहिक जमानीमा ऋण दिने व्यवस्थामा बैंकहरुले कर्जा प्रवाह गर्न आनाकानी गरेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पहलमा सरकारले उक्त कार्यविधिलाई संशोधन गरी बन्दै गरेको घर समेत धितो राखेर निब्र्याजी ऋण दिने नयाँ प्रावधान लागू गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्दराज पोखरेलले बताए,’ निर्णयपछि प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाका अधिकारीहरुसंग छलफल गरी यो व्यवस्थालाई थप व्यावहारिक बनाइने छ ।’ सरकारले दिने तीन लाख रुपैयाँ अनुदानले घर बनाउन समस्या भएका लाभग्राहीलाई निर्ब्याजी ऋणले ठूलो सहयोग पुग्ने उनले बताए ।

‘हामीले इजाजत प्राप्त सबै बैंकहरुबाट निर्ब्याजी कर्जा प्रवाहलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई समेत भनिसकेका छौ,’ पोखरेलको भनाई उद्धृत गर्दै प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आशा छ पछिल्लो व्यवस्थाले निजी आवास पुनर्निर्माणलाई थप गति दिनेछ।’  निर्ब्याजी रूपमा प्रदान गरी उक्त कर्जाको भुक्तानी लाभग्राहीले बढीमा ५ वर्षसम्ममा तिरिसक्नु पर्ने व्यवस्था छ। ‘यस्तो ऋण उपलव्ध गराउने सम्बन्धमा जानकारी एवं गुनासो सुन्नका लागि सम्बन्धित बैंक वा वित्तीय संस्थाले छुट्टै सम्पर्क अधिकृत तोक्नुपर्नेछ,’ प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ।