रामबहादुर बम्जनबिरुद्ध भारतमा उजुरी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

रामबहादुर बम्जनबिरुद्ध भारतमा उजुरी



नयाँ दिल्ली। तपस्वीका रुपमा चिनिएका रामबहादुर बम्जनका बारेमा नेपाल प्रहरीमा परेको उजुरीबारे नेपाल प्रहरीले छानविन टुंगो लगाउन नसकेकै बेला भारतमा एक विदेशी महिलाले उजुरी दायर गरेकी छन् । नेपालमा रहँदा बम्जनको आश्रममा आफूमाथि शारीरिक तथा मानसिक यातना दिइएको भन्दै ती विदेशी महिलाले दिल्ली महिला आयोगमा उजुरी दिएकी हुन् ।

चेक रिपलिब्लककी ५० वर्षीया महिलाले दिल्ली महिला आयोगमा दिएको उजुरी अनुसार बम्जनको शिविरमा शारीरिक र मानसिक यातना पाएपछि उनी केही पर्यटकको मद्दतमा भागेर अवैध रुपमा भारत पुगेकी हुन् । उनले भारतबाट ‘एक्जिट भिसा’ दिलाउन दिल्ली महिला आयोगसमक्ष गुहार मागेपछि उनको निवेदनअनुसार दिल्ली महिला आयोगले भिसा उपलब्ध गराएर हालै स्वदेश फर्काएको बताइएको छ ।

आयोगकी प्रमुख स्वाति मालिवालका अनुसार ती महिलाले नेपालमै आफ्ना कागजात र पासपोर्ट गुमाएकी थिइन् । दिल्लीस्थित चेक रिपब्लिक दुतावासमा दिल्ली महिला आयोगले उनका लागि आपतकालिन राहदानीका लागि सम्पर्क गरेको थियो ।

भारतको अखबार नवभारत टाइम्समा प्रकाशित समाचार अनुसार सन् २०१२ मा ती महिलाले चेक रिपब्लिकमा आफ्नो छोराको असामयिक निधनपछि नेपालको उक्त आश्रममा आश्रय लिएकी थिइन् । बोधि श्रवण धर्म संघका नाममा रहेको आश्रमका तपस्वी रामबहादुर बम्जनले ती महिलालाई ‘बोक्सी’ घोषणा गरेको उक्त अखबारमा उल्लेख छ ।

आश्रममा उनलाई बाँधेर राखिएको र शारीरिक तथा मानसिक यातना दिइएको बताइएको छ । यहाँसम्म कि, उनको हातसमेत भाँचिएको थियो । प्रहरीसमेत बम्जनसँग मिलेका कारण उजुरी गर्न नसकेको ती महिलालाई उद्धृत गर्दै समाचारमा उल्लेख छ ।

केही पर्यटकले उनलाई उद्धारको प्रयास गरेका थिए । आश्रममै फसेका अन्य महिलालाई उद्धार गर्ने उद्देश्यसहित उनी ४ महिनापछि फेरि त्यही आश्रममा पुगेको बताइएको छ । ४ वर्षसम्म विभिन्न निकायमा पहल गर्दा पनि बम्जनमाथि कारवाही हुन नसकेको भन्दै उनी भागेर दिल्ली पुगेको समाचारमा उल्लेख छ ।

सन् २०१८ को डिसेम्बरमा केही जर्मन पर्यटकको मद्दतमा उनी दिल्ली पुगेको बताइएको छ ।

समाचारमा ती महिलाको परिचय र नेपालमा उनी बसेको आश्रमको ठेगाना भने खुलाइएको छैन । दिल्ली महिला आयोगकी अध्यक्ष स्वातिले उनको उजुरीमाथि कारवाहीका लागि नेपाली अधिकारीहरुलाई आग्रह गरिने बताएकी छन् ।