‘तपस्वी’ रामबहादुर बम्जन विदेश भाग्ने तयारीमा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

‘तपस्वी’ रामबहादुर बम्जन विदेश भाग्ने तयारीमा



पाँच अनुयायी हत्याको विषयमा प्रहरी अनुसन्धान घेरामा रहेका रामबहादुर बम्जन विदेश भाग्ने तयारी छन्।

उनी निकट समूहले बम्जनलाई विदेश भगाउन प्रयास गरिरहेको हो।

तपस्वीको भेषमा आश्रम सञ्चालन गर्दै आएका उनी थाइल्यान्ड, भियतनाम र कम्बोडियामध्ये कुनै एउटा देश जान प्रयासमा छन्। भगवान बुद्धको अवतारको रुपमा अन्तर्राष्ट्रिय चर्चा पाएका उनी जान खोजेका तीनवटै देशहरु बुद्धिस्ट हुन्। आश्रममा कहिलै ध्यान नगराउने उनी ध्यान शिविर सञ्चालनका नाउँमा विदेश भाग्न लागेको स्रोतहरुले पुष्टि गरेका छन्।

बम्जन निकट सहयोगीहरुले भियतनाम र कम्बोडियामा सम्पर्क बढाएर उनलाई सम्भावित कारवाहीबाट जोगाउन विदेश लैजाने प्रयास भइरहेको हो। बम्जन भाग्न लागेको सूचना थाहा पाएसँगै उनलाई पक्राउको आधार खोज्ने कार्यलाई प्रहरीले तीब्रता दिएको स्रोतले बतायो।

बम्जनको आश्रमबाट फरक मिति र समयमा बेपत्ता पारिएका सञ्चलाल वाइबा, सुरेशआले मगर, रिता वोट, कर्मा तामाङ र फूलमाया रुम्बाको अवस्था लामो समयदेखि अज्ञात छ। प्रहरी अनुसन्धानले उनीहरु कोही पनि जीवित नरहेको निष्कर्ष निकाले पनि बम्जनसँग भने बयान लिन सकिरहेको छैन।

‘बेपत्तामध्ये कुनै एकको लत्ताकपडा, अस्थिपञ्जर वा सबुत हुनसक्ने वस्तुको खोजीमा रामबहादुरका देशभरका आश्रममा अनुसन्धान गरिरहेका छौं’, प्रहरी स्रोतले भन्यो, ‘उनी भाग्न लागेको सूचना पाएका छौं त्योभन्दा अगाडि हामी प्रमाण जुटाउन प्रयासरत छौं।’

प्रहरी अधिकारीका अनुसार बम्जनको सहयोगी समूहले सत्तारुढ नेकपा नेतृत्व तह, मन्त्री र सचिवहरुलाई भेटेर बम्जनमाथिको अनुसन्धान बन्द गर्न दवाब तीब्र पारिरहेको छ। हत्या आरोपी समूहको पञ्जामा पुगेको सत्ताले उनीमाथि बयान लिन रोक लगाइरहेको हो। ‘राजनीतिक नेतृत्व, सरकारी अधिकारीले यथेष्ट प्रमाण जुटाएर मात्र अघि बढ्नु भन्ने सल्लाह दिएका छन्’ ती प्रहरी अधिकारीले नेपालखबरसँग भने, ‘प्रहरीलाई रामबहादुर र उनी निकटको बयान लिनबाट समेत रोक्ने काम भएको छ।’

घोडा मरेपछि हत्या श्रृंखला
सिन्धुपाल्चोक बाँडेगाउँस्थित रामबहादुरको आश्रममा उनको अति प्रिय एउटा घोडा र केही चराचुरुंगी मरेपछि हत्या श्रृंखला सुरु भएको प्रहरी अनुसन्धानको निश्कर्ष छ। अनुसन्धानमा त्यही समयमा रामबहादुरकी श्रीमती समेत सिकिस्त बिरामी भएपछि उनले बोक्सो आरोपमा आश्रममा रहेका शंकास्पदलाई यातना दिन सुरु गरेका थिए।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार २०७५ पुसको अन्तिम साता आश्रम प्रवेश गरेको प्रहरीले आश्रम नजिक घोडाको अस्थिपञ्जर समेत फेला पारेको छ। प्रहरी कुकुर सहित घटनास्थल पुगेको प्रहरीले आश्रम नजिक गरेको उत्खनन्मा घोडाको अस्थिपञ्जर फेला पारेको हो।

‘उनको अतिप्रिय घोडा मरेपछि बोक्सो आरोपमा वाईबा र आलेमगरलाई यातना दिएको बताउने साक्षी प्रहरीले भेटेको छ’ स्रोतले नेपालखबरसँग भन्यो ‘वाईबा र आलेमगर दुवैका हत्या रामबहादुरकै निर्देशनमा भएको हो।’

प्रहरी अनुसन्धानमा बाराका सुरेश आलेमगर र मकवानपुरका सन्चलाल वाईबाको हत्या बाँडेगाउँ आश्रममा भएको तथ्यहरु फेला परेका हुन्। अनुसन्धानमा सुरेश आलेमगर गम्भीर घाइते अवस्थामा बाटोमा भेट्ने प्रत्यक्षदर्शी प्रहरीले भेटेको हो। ती प्रत्यक्षदर्शीले सुरेश घाइते अवस्थामा आश्रम नजिक भेटिएका थिए। उनले आफूलाई आश्रममा यातना दिएको बताएका थिए।

‘बाटोमा भेटिएका आलेमगरलाई कपडा दिने ब्यक्ति हामीले फेला पारेका छौं’ स्रोतले भन्यो ‘उनी जिल्ला प्रहरी कार्यालय जाने भनेर हिँडेका थिए, त्यसपछि उनको अत्तोपत्तो छैन।’

प्रहरीले वाइबा, आलेमगर सहित फुलमाया रुम्बा(पासाङ), रिता बोटे र चुल्मा र कर्मा भनेर बोलाउने चिनिमायाँ तामाङ हराएको उजुरीका आधारमा अनुसन्धान गरिरहेको हो। प्रहरी स्रोतका अनुसार आश्रममा घोडा र चराचुरुङगी मरेपछि रामबहादुर र उनका अनुयायीहरुले सुरेश र सञ्चलाललाई बोक्सो भएको आरोपमा यातना दिएका थिए।

पुसको दोस्रो साता बम्जनको यो कर्तुतबारे सेतोपाटी अनलाइनले पहिलो पटक खुलासा गरेको थियो। त्यसपछि सिन्धुपाल्चोक प्रहरीले मानव ओसारपसारमा मुद्दा दर्ता गरी बम्जनविरुद्ध अनुसन्धान गरिरहेको छ। नेपालखबरसँग कुराकानी गर्दै एसपी मुकुन्द मरासिनीले बम्जनविरूद्ध किटानी जाहेरी नपरेको जनाए।

शव गाडेको ठाउँबाट निकालेर जलाएको पुष्टि
प्रहरीले बाँडेगाउँ आश्रममा गरेको उत्खन्न र खोजीमा घोडाको अस्थिपञ्जर बाहेक केही थान नुनका पोका समेत बरामद गरेको थियो। आश्रमबाट संकलन गरेका सबै सबुत प्रमाण विधि विज्ञान प्रयोगशालामा परीक्षण भए पनि प्रहरीले रामबहादुरबिरुद्धको कसुर स्थापित गर्ने आधार भेटाउन नसकेको बताउँदै आएको छ।

अनुसन्धानमा बोक्सो आरोपमा कुटपिट भएका सञ्चलालको मृत्यु भएको थियो। उनको शब सुरुमा नुन राखेर गाडिएको थियो। उनले शब गलाउने भन्दा गल्न रोक्ने थाहपाएपछि उनलाई बनस्पती घिउ हालेर जलाएको कथन प्रहरी अनुसन्धानमा खुलेको हो।

‘आश्रमस्थित रामबहादुरको कक्षमा सञ्चलाल हराएको केही दिनमा करिब ३ सय लिटर बनस्पती घ्यू राखिएको देख्ने प्रत्यक्षदर्शीको बयान प्रहरीसँग छ’ स्रोतले भन्यो ‘आश्रममा कुनै कार्यक्रम भएको छैन तर घ्यूका टिन अर्को दिन थिएन।’

प्रहरीले ८० रोपनी क्षेत्रफलमा फैलिएको बाँडेगाउँ आश्रममा साथै आसपासको ५ सय मिटर क्षेत्रफलमा खोजी गरेको थियो। ‘बम्जनसँगै रहेका र निकट भएका ब्यक्तिहरुको वर्षोदेखि अत्तोपत्तो छैन,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने ‘आश्रममा रहेका अनुयायीको बयानमा समेत भिन्नता छ।’

नेपाल खबरका लागि दिपक खरेलले तयार पारेको सामाग्री