प्रचण्ड भारत गएपछि वामदेव सुटुक्क छिरे बालुवाटार - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

प्रचण्ड भारत गएपछि वामदेव सुटुक्क छिरे बालुवाटार



काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सिता दाहालको उपचारका लागि भारत उडेलगत्तै पार्टीका उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

प्रचण्ड हिँडेलगत्तै उनलाई बालुवाटारमा बोलाइएको स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले छलफलका लागि बोलाएलगत्तै गौतम बालुवाटार पुगेका थिए ।

प्रचण्ड हिँडेलगत्तै खुसुक्क बालुवाटारमा भएको छलफललाई अर्थपूर्ण तरिकाले हेरिएको छ । उपाध्यक्ष गौतमले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरेको बताइएको छ। झण्डै एक घण्टा भएको भेटवार्तामा आफूलाई सहयोग गर्न र चाहेको पद लिन प्रधानमन्त्री ओलीले आग्रह गरेका थिए ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीको जवाफमा गौतमले आफूले पार्टी एकताको लागि प्रयास गरिरहेको बताएका थिए । त्यसलगत्तै अर्थमन्त्री पौडेलले अर्को समुहमा नलाग्न र आफूहरूलाई चुनावी अभियानमा सहयोग गर्न आग्रह गरेका थिए ।

उपाध्यक्ष गौतमले पहिले आफूलाई चुनाव हराएको प्रसङ्ग उठाएका थिए । पछिल्लो समय कुनै खेमामा पनि नखुलेका गौतम पार्टी एकताबद्ध राख्न छुट्टै टिम बनाउने कसरतमा जुटेका छन्।

पार्टी एकताबद्ध राख्न गौतमले दस्तावेज समेत तयार गरिरहेको स्रोतले दाबी गरेको छ । हाल गौतमले आफ्नै निवासमा देशका विभिन्न स्थानबाट आएका नेता कार्यकर्तासंग एकताबारे छलफल गरिरहेका छन्।