वामदेवले प्रचण्डको साथ् छोडेको आशंका: एकाएक ल्याए यस्तो प्रस्ताव
काठमाडौं- नेकपाको आन्तरिक विवाद चुलिएको बेला पार्टीका उपाध्यक्ष बामदेव गौतम भने एकाएक प्रधानमन्त्री ओलीको कित्तामा देखिएका छन् । ‘पार्टी विग्रह रोक्न’ भन्दै नेकपा नेता गौतमले ६ वटा प्रस्ताव अघि सारेका छन्। उनले सारेका प्रस्तावमा प्रधानमन्त्री ओलीलाई बचाउन खोजिएको छ ।
उनले गरेका प्रस्ताव खासै नयाँ भने छैनन् । अहिलेको कार्यकाल अवधिभर प्रधानमन्त्री ओलीलाई नै बनाउने र पार्टीको अध्यक्ष पनि ओली नै रहने उनको प्रस्ताव छ । तर पार्टीको कार्यकारी अधिकार भने प्रचण्डलाई दिनुपर्ने उनको माग छ ।
स्थायी कमिटी बैठक स्थगित भएको हल्ला चलेको केही समयमा नै मंगलबार बामदेवको उक्त प्रस्ताव सार्वजनिक भएको छ। अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल समुहलाई सहयोग गरिरहेका गौतमले अहिले भने प्रधानमन्त्री ओलीलाई नै निरन्तरता दिनुपर्ने प्रस्ताव गरेका छन् । स्थायी कमिटि बैठकमा गौतमले पनि प्रधानमन्त्री ओलीले दुवै पदबाट राजिनामा दिनुपर्ने माग राखेका थिए ।
गौतमले पार्टीको एकता महाधिवेशन नहुँदासम्म पार्टी अध्यक्ष केपी शर्मा ओली नै रहने र प्रतिनिधिसभाको यस कार्यकालको प्रधानमन्त्री पनि ओली नै रहने प्रस्ताव गरेका छन्।
यस्तै, अर्का अध्यक्ष प्रचण्ड एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्ष रहने, पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने, प्रधानमन्त्रीका दैनिक कार्यमा पार्टीले हस्तक्षप नगर्ने तर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका निर्णय गर्दा पार्टीको सचिवालयसँग परामर्श गर्ने र प्रशासन तथा सुरक्षा निकायका कर्मचारी सरुवा–बढुवा गर्न मापदण्ड निश्चित गरी कार्यान्वयन गर्ने प्रस्ताव बामदेवको छ।
यसैगरी पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषद पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने, संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुअघि सचिवालयको परामर्श लिने र पार्टीका सबै बैठक पार्टी कार्यालयमै गर्नुपर्ने प्रस्ताव गरेका छन्।