वामदेव गौतमको सांसद पद नजाने
काठमाडौँ- एमालेका उपाध्यक्ष रहेका वामदेव गौतमले पार्टीबाट राजीनामा दिएपछि उनको सांसद पद के हुन्छ भन्ने चासो बढेको छ । गौतमलाई मनोनयन गर्नेबेलामा तत्कालीन नेकपा नेतृत्वको सरकार भएकै कारण पनि यस्तो चासो बढेको हो ।
उनले छाडेपनि उनको सांसद पद नजाने भएको छ । गौतम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनीत सांसद हुन् । संविधानविद् भीमार्जुन आचार्यका अनुसार उनको पद भने नजाने भएको छ ।
‘राजनीतिक दलबाट निर्वाचित सांसदहरूले दल त्यागेमा उनीहरूको पद जान्छ तर गौतम दलबाट मनोनीत नभएका कारणले पार्टी छोडे पनि पद सुरक्षित रहन्छ’ संविधानविद् भीमार्जुन आचार्यले भनेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सभामा मनोनीत गर्ने तीन जना सांसदमध्ये गौतम प्रतिनिधिसभाको निर्वाचनमा बर्दिया १ बाट पराजित भएका व्यक्ति हुन् । प्रतिनिधिसभाको त्यही कार्याकालभित्र घुमाउरो बाटोबाट संघीय संसद्मा प्रवेश गरेको भन्दै गौतमको मनोनयनविरुद्ध दायर रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ ।