नयाँ नक्साबारे वामदेव भन्छन- 'काम गर्ने कालु मकै खाने भालु' - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

नयाँ नक्साबारे वामदेव भन्छन- ‘काम गर्ने कालु मकै खाने भालु’



काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले सरकारले नेपालको नयाँ नक्सा पारित गरेको सम्बन्धमा गरिएको व्यक्तिको देवत्वकरणमा असन्तुष्टि जनाएका छन् ।

काम गर्ने कालु मकै खाने भालु भनेझैँ काम अर्कैले गरेको तर देवत्वकरण भने अर्कैको गरिएको भन्दै टिप्पणी गरेका छन् । उनले वर्तमान सरकारको यो निर्णय पार्टीको सामूहिक निर्णय पद्धतिबाट भएको उल्लेख गरेका छन्।

‘सिमाना व्यवस्थापनसँग सम्बन्धित हाम्रा ऐतिहासिक अभिलेखलाई यो नक्साले अझ बलियो प्रमाणका रुपमा आत्मसात् गर्दै आगामी पुस्तालाई सीमा रक्षाका निमित्त प्रेरणा, उत्साह र उर्जा दिने काम भएको छ’, वामदेवले भनेका छन् ‘अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन छ । तर, यो निर्णय पार्टीको सामूहिक निर्णयप्रक्रिया अनुसार भएर, नेपाल सरकारबाट पनि त्यहीअनुरुप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्छ ।’

उपाध्यक्ष गौतमले नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्सा जारी गर्नुपर्ने सन्दर्भमा आफूले सुरुदेखि नै पार्टीमा सशक्त विचार र जोडदार माग राख्दै कुरा सबैमा स्मरण गराउन चाहेको बताएका छन् ।

‘यसपटक पनि छुटेका नेपाली भूभाग समेटेर नक्सा जारी गर्नुपर्ने प्रस्ताव पार्टीको बैठकमा मैले नै राखेको यहाँहरु सबैमा जानकारी गराउँछु’, वामदेवले भनेका छन् ।

उनले यो निर्णय पार्टीको सामूहिक निर्णयप्रक्रिया अनुसार भएर, नेपाल सरकारबाट पनि त्यहीअनुरुप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्ने बताएका छन् ।

‘हामीले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुर्छ’, उनले अघि भनेका छन् ‘ ऐतिहासिक तथ्य, प्रमाण र लिखतद्वारा निर्दिष्ट गरिएको आधारमा नेपाल सरकारले हाम्रो देशको नयाँ नक्सा सार्वजनिक गरेको छ । यसप्रति समस्त नेपाली जनसमुदाय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति आभारी छ ।’

गौतमले वर्तमान सरकारका अनेकन कार्य आलोचनायोग्य हुँदाहुँदै पनि यो काम भने स्वागतयोग्य रहेको बताएका छन् ।

यस्तो छ वामदेवको स्टाटस

‘ऐतिहासिक तथ्य, प्रमाण र लिखतद्वारा निर्दिष्ट गरिएको आधारमा नेपाल सरकारले हाम्रो देशको नयाँ नक्सा सार्वजनिक गरेको छ । यसप्रति समस्त नेपाली जनसमुदाय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति आभारी छ ।

नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्सा जारी गर्नुपर्ने सन्दर्भमा मैले शुरुदेखि नै पार्टीमा सशक्त विचार र जोडदार माग राख्दै आएको म सबैमा स्मरण गराउन चाहन्छु । यसपटक पनि छुटेका नेपाली भूभाग समेटेर नक्सा जारी गर्नुपर्ने प्रस्ताव पार्टीको बैठकमा मैले नै राखेको यहाँहरु सबैमा जानकारी गराउँछु ।

वर्तमान सरकारका अनेकन कार्य आलोचनायोग्य हुँदाहुँदै पनि यो काम भने स्वागतयोग्य छ । किनभने, सिमाना व्यवस्थापनसँग सम्बन्धित हाम्रा ऐतिहासिक अभिलेखलाई यो नक्साले अझ बलियो प्रमाणका रुपमा आत्मसात् गर्दै आगामी पुस्तालाई सीमा रक्षाका निमित्त प्रेरणा, उत्साह र उर्जा दिने काम भएको छ ।

अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन छ । तर, यो निर्णय पार्टीको सामूहिक निर्णयप्रक्रिया अनुसार भएर, नेपाल सरकारबाट पनि त्यहीअनुरुप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्छ । हामीले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुर्छ ।’
७ जेठ २०७७