एमसीसी फिर्ता लैजान वामदेवले लेखे अमेरिकालाई पत्र
काठमाडौं : नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना फिर्ता लैजान संयुक्त राज्य अमेरिकालाई अनुरोध गरेका छन् ।
गौतमले मंगलबार विज्ञप्ति जारी गरेर एमसीसी अमेरिकाले फिर्ता लैजानु नै अहिलेको परिस्थितिमा नेपाल हितमा हुने उल्लेख गरेका छन् ।
‘एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतकद्द विभाजनका कारण गम्भीर अहित हुने अवस्था सिर्जना हुने देखिएको छ । नेपालमा अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद रहेको छ, नेपाल सरकारले र संसदले पनि अनुमोदन गर्न सक्ने अवस्था देखिन्न,’ गौतमले भनेका छन्, ‘यस्तो अवस्थामा नेपाल र अमेरिकी सरकारलाई एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु ।’
गौतमले एक पक्षीय रुपमा भए पनि फिर्ता लगेर नेपालको हित प्रवर्द्धन गर्न अमेरिकालाई विशेष अनुरोध गरेका छन् ।
नेपाल र अमेरिकाबीच १९४७ मा दौत्य सम्बन्ध कायम भएदेखि आजसम्म घनिष्ट र मित्रतापूर्ण सम्बन्ध रहेको र नेपालको विकासमा सघाएको भन्दै गौतमले एमसीसी सम्झौतापछि नेपाली जनता अमेरिकाप्रति गम्भीर रुपमा संशकित भएको, नेपालको स्वतन्त्र र सार्वभौमिकतामा आँच पुग्ने शंका गरेकाले परियोजना फिर्ता नै दुबैको हितमा रहेको जिकिर गरेका छन् ।