सांसद बन्नका लागि वामदेव मरिहत्ते गर्नुको कारण यस्तो रहेछ ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सांसद बन्नका लागि वामदेव मरिहत्ते गर्नुको कारण यस्तो रहेछ !



काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले बहालवाला सांसदलाई राजीनामा गर्न लगाएर उपनिर्वाचन गराउने तानाबुना बनाएपछि पार्टीपंक्तिमा विवाद बढ्दो छ ।

पार्टीका केही प्रभावशाली नेताहरुले गौतमका लागि पार्टीले अनावश्यक रुपमा उपनिर्वाचन गराउन नहुने तर्क राख्दै आएका छन् । कार्यकर्ताहरु पनि वामदेवको उक्त प्रयासप्रति सकारात्मक देखिएका छैनन् । पार्टीले उपनिर्वाचनका बारेमा आधिकारिक निर्णय गरिसकेको छैन ।

गौतमले प्रतिनिधिसभा सदस्य हुनका लागि गरेको तिकडमबाजीलाई धेरैले सत्ता स्वार्थसँग जोडेर व्याख्या गर्न थालेका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहालको समर्थनमा आफू प्रधानमन्त्री बन्ने र दाहाललाई पार्टीको अध्यक्षमा गौतमले समर्थन गर्नेगरी पार्टीभित्र नयाँ समीकरण विकसित हुने आँकलन गर्नेहरु पनि प्रशस्त छन् ।

यसबीचमा गौतमले भने सांसद बन्नका लागि मरिहत्ते गर्नुको कारण खुलाएका छन् । उनले बीबीसी रेडियोको नेपाली सेवासँग कुरा गर्दै आफू सत्ता स्वार्थका लागि नभई देश विकासका लागि प्रतिनिधिसभामा जान चाहेको प्रष्ट पारेका छन् ।

उनले अधिकारसम्पन्न विकास प्राधिकरण गठन गरी त्यसको नेतृत्व आफूले लिने उद्देश्यले सांसद बन्न चाहेको बताए । समृद्धिको लक्ष्य लिएको सरकारलाई सफल बनाउन आफूले विकास प्राधिकरणको परिकल्पना गरेको गौतमको भनाइ छ । ‘मेरो माग प्रतिनिधिसभामा गएपछि विकास प्राधिकरणको जिम्मेवारी दिनुस्, मैले स्रोतसमेत जुटाउँछु र निर्वाचन घोषणापत्रमा भएका सबै काम गरेर देखाउँछु भन्ने छ,’ उनले भने ।

उल्लेखनीय छ, गौतमका लागि काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिन तयार रहेको बताइसकेका छन् । उनको राजीनामाको आशयपत्र पार्टी सचिवालयमा पेश भइसकेको छ । तर पार्टीले यस विषयमा निर्णय लिइसकेको छैन ।

सोही विषयमा छलफल गर्ने गरी बुधबारका लागि डाकिएको सचिवालय बैठक अचानक स्थगित गरी आगामी शनिबारसम्मका लागि सारिएको छ ।