वामदेवलाई ओलीको कटाक्ष : मन्त्री पाउँ भनेर गलफत्ती गर्नेले मलाई गाली किन गरेको ? - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

वामदेवलाई ओलीको कटाक्ष : मन्त्री पाउँ भनेर गलफत्ती गर्नेले मलाई गाली किन गरेको ?



काठमाडौँ- एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वउपाध्यक्ष वामदेव गौतमले उपप्रधानमन्त्री पदका लागि पार्टी छाडेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलामा अध्यक्ष ओलीले उपप्रधानमन्त्री पाउँ भनेर निवेदन हाले पनि आफूलाई गाली नगर्न आग्रह गरेका छन् ।

‘उपप्रधानमन्त्री हुन पाउँ भनेर उतातिर भने हुन्छ नि, केपी शर्मा ‌ओलीलाई गाली किन गर्ने ?,’ वामदेव गौतमको नाम नलिइकनै एमाले अध्यक्ष ओलीले यस्तो व्यंग्य गरे, ‘निवेदनमा एउटा कुरा छ । निवेदनको व्यहोरा अर्कै छ । बुझ्नै गाह्रो पर्नेगरी ।’

ओलीले थपे, ‘अहिले त कस्तो भइरहेको छ भने उपप्रधानमन्त्री कसैलाई बन्न मन लाग्यो भने निवेदन के व्यहोरामा हालेको छ भने- तपाईं केपी शर्मा ओली एकदमै तानाशाही हुनुभयो । तपाईं केपी शर्मा ओलीले पार्टीले भन्या मान्नुभएन, तपाईं केपी शर्मा ओलीले हामीलाई सम्मान गर्नुभएन, तपाईं केपी शर्मा ओलीले विकास मात्र गर्नुभयो । तपाईं केपी शर्मा ओलीले कुन्नि के जाती गर्नुभयो । त्यसकारण तपाईंको पार्टी छोडेँ ।’

उनले एउटा पक्षको नजिक हुनका लागि अर्को पक्षलाई गाली गर्ने प्रचलन बढेको बताए । त्यो प्रचलन वामदेव गौतममा देखा परेको उनको संकेत थियो । गौतमले शुक्रबार पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएका थिए ।