अब कसले बँचाउला वामदेव गौतमलाई ?
काठमाडौं । नेकपाका नेता वामदेव गौतम डोल्पाबाट उपचुनाव लडेर सांसद बन्छन् कि बन्दैनन् भन्ने अनिश्चित हुँदै गएको छ । डोल्पाका सांसद धनबहादुर बुढालाई राजीनामा गराएर रिक्त ठाउँमा वामदेव चुनाव लड्ने भनिएको छ ।
धनबहादुरले राजीनामा दिने लगभग निश्चित भनिँदै गरेको बेला पुन अन्यौल उत्पन्न भएको छ । अघिल्लो साता सांसद तथा राज्यमन्त्री पदमा रहेका धनबहादुर गृहजिल्ला डोल्पा गएका थिए । डोल्पालीहरुलाई धनबहादुरले राजीनामा दिने कुरा बताए । विभिन्न ठाउँमा भेला आयोजना गरेर बुढाले राजीनामा दिने र रिक्त ठाउँमा वामदेव चुनाव लड्ने बताएका थिए ।
तर, स्थानीयले धनबहादुरलाई राजीनामा नदिन सुझाएका छन् । पूर्व एमालेको केपी ओली गुटसँग निकटहरुको अगुवाईमा बुढाले राजीनामा दिन नहुने भन्न लगाइएको थियो । जिल्लाको नेतृत्व तहमा रहेका अधिकांशले राजीनामा दिएर बामदेवलाई डोल्पा भित्र्याउन अनिच्छा प्रकट गरेका छन् ।
डोल्पामा चुनाव लड्ने चक्करमा लागेका वामदेवलाई साविक एमालेका कतिपय नेताहरुले विगतको अन्तर्घातको स्मरण गराएका छन् । वामदेवले वर्दियामा चुनाव हारेपछि आफूलाई अन्तर्घात भएको भन्दै अन्तर्घातीहरुको सूची पार्टी केन्द्रीय कार्यालयमा पेस गरेका थिए । गौतमले आफ्नै पार्टीका पूर्व सांसद श्याम ढकाललाई पनि अन्तर्घातीको आरोप लगाएका थिए ।
वर्दियामा जे अवस्था छ, डोल्पामा त्यही हुनसक्छ भन्दै वामदेवलाई अन्तर्घातको स्मरण गराउन थालिएको हो । जानकार स्रोतहरुका अनुसार धनबहादुर बुढा डोल्पा गएको बेला साविक एमालेको ठूलो पंक्तिले वामदेवलाई अन्तर्घात गर्ने भनेर खुला च्यालेन्ज गरेका छन् । बुढाले यही कुराको जानकारी वामदेवलाई गराएको बुझिएको छ ।
वर्दियामा वामदेव चुनाव हारेपछि हारको कारण खोज्न हरि ज्ञवाली र वैजनाथ चौधरीको संयोजकत्वमा बेग्लाबेग्लै दुई छानविन समिति बनाइएको थियो । दुवै समितिले हारको प्रमुख कारण अन्तर्घात भएको ठहर गरेको थियो । अन्तर्घातका कारण वर्दियामा चुनाव हारियो भने डोल्पामा पनि हार्न सकिन्छ भनेर वामदेवलाई कतिपयले ‘सम्झाउने’ काम गरिरहेको बुझिन्छ । यसरी वामदेवलाई ‘सम्झाउने’हरु अधिकांश ओली निकट रहेको बुझिन्छ ।
राज्यमन्त्री बुढा जनतालाई जानकारी गराएर राजीनामा दिन्छु भन्दै दुई साता अघि डोल्पा पुगेका थिए । उनले जानकारी पनि दिए । तर, फर्किएर आएपछि उनले राजीनामा दिन ढिलाई गरेका छन् । केही समय पर्खिएर मात्र राजीनामा दिन बुढालाई दवाब परेको बुझिन्छ ।
उता वामदेवलाई पनि डोल्पाबाट चुनाव लड्ने जोखिम नमोल्न धेरैले सुझाव दिन थालेका छन् । डोल्पामा पनि अन्तर्घातको खतरा देखिएपछि वामदेवलाई यस्तो सुझाव दिइन थालेको हो । उपचुनाव पनि हारेको अवस्थामा राजनीति नै सकिन्छ भन्ने सल्लाह वामदेवलाई दिइँदै गरेको बुझिन्छ ।
वामदेव निकटहरुका अनुसार धनबहादुर डोल्पाबाट फर्किएपछि वामदेव आफंै अलमलमा परेर छटपटिएका छन् । चुनाव जित्ने सुनिश्चित अवस्था नरहेको वामदेवलाई सुनाइएको छ । उपचुनाव उठ्न पार्टीका मुख्य नेताहरुले समर्थन दिएको तर भित्रभित्रै अन्तर्घातको तयारी गरेको पनि वामदेव निकटहरुले आशंका गर्न थालेका छन् ।
तर, वामदेवका लागि धनबहादुर राजीनामा दिन भने पूरै तयार भएको बताइएको छ । धनबहादुरको तर्फबाट कुनै बेइमानी नहुनेमा वामदेव विश्वश्त रहेको बुझिन्छ । डोल्पाबाट फर्कने वित्तिकै राजीनामा दिने पक्षमा रहेका धनबहादुर वामदेवले नै भनेपछि राजीनामा खल्तीमा बोकेर बसिरहेको बताइएको छ ।