नेकपा (एस)मा जाने वामदेवको तयारी, नेता व्यवस्थापनबारे छलफल
काठमाडौं- नेकपा एमाले परित्याग गरेका नेता वामदेव गौतम एमालेबाट विभाजन भएर बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को वरिष्ठ उपाध्यक्ष बन्ने भएका छन् । नेता गौतमले एकता अभियानमा जोडिएका नेता-कार्यकर्तालाई समेत एकीकृत समाजवादीमा ल्याउने भएका छन् ।
एमालेको सबै पदबाट राजीनामा गरी मौन बसेका गौतमले एमाले एकीकृत समाजवादीमा लाग्ने तयारी गरेका छन्। वामदेवले एकीकृत समाजवादीमा खुल्ने भनेरै एमालेबाट राजीनामा दिएको बताइएको छ । गौतमलाई वरिष्ठ उपाध्यक्ष बनाउने भन्ने मोटामोटी सहमति भइसकेको एक नेताले बताए ।
ति नेताका अनुसार एकीकृत समाजवादीका लाग्नका लागि वामदेवले एकता अभियानमा लागेका नेताहरूसँग परामर्श गरिरहेको बताइएको छ । त्यहाँ जोडिएका सबै नेताहरूलाई के भूमिका दिने भन्ने तयारी पनि भैरहेको बताइएको छ ।
वामदेवले एकता अभियानमा जोडिएका नेता-कार्यकर्तालाई एकीकृत समाजवादीमा उचित भूमिका दिनुपर्ने भन्दै अध्यक्ष माधवकुमार नेपालसंग छलफल गरिरहेका छन्। एकीकृत समाजवादीमा जोडिएलगत्तै सरकारमा सहभागी गराउने विषयमा समेत छलफल भइरहेको बताइएको छ।
गौतमनिकट एक नेताले भने राष्ट्रिय एकता अभियानमा कसरी अघि बढ्ने भन्ने विषयमा आन्तरिक छलफल गरिरहेको बताए। गौतमको पक्षमा तत्कालीन नेकपामा १६ भन्दा धेरै केन्द्रीय सदस्य भएपनि एकता राष्ट्रिय अभियान सुरु गरेपछि हरिप्रसाद पराजुलीले मात्रै साथ दिएका थिए।
हाल गौतमको पक्षमा पराजुलीसहित स्थानीय तहका प्रमुख/उपप्रमुख रहेका छन्। उनी एकीकृत समाजवादी पार्टीमा खुलेमा विशेषगरी दाङ र प्युठान जिल्लाका स्थानीय तह र पार्टीमा प्रभाव पर्ने नेताहरुले बताएका छन्।