ओलीसँग छुट्टिएर अरु पार्टीहरूसँग एकता गर्ने वामदेवको घोषणा
काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी अध्यक्ष केपी ओलीसँग छुट्टीएर अब अरु पार्टीहरूसँग एकताको प्रयास गर्ने बताएका छन् । ओलीले आफ्नो पक्षका केन्द्रीय कमिटी सदस्यको मात्रै बैठकबाट आज निर्वाचित पदाधिकारीको जिम्मेवारी खोस्नेदेखि महाधिवेशन तोक्नेदेखि सम्मको निर्णय लिएपछि गौतमले ओलीसँग छुट्टीने बताएका हुन् ।
‘यो कम्युनिस्ट पार्टीको अध्यक्षले गर्नै नसक्ने, गर्नै नहुने काम हो । यसलाई मैले चरम अराजकताको नमूना ठान्छु’, एक पत्रिकासंगको कुराकानीमा उनले भनेका छन् , ‘केपी ओलीसँगको एकता त समाप्तै भयो । अब हामीले अरु पार्टीहरूको बीचमा एकताको प्रयास गर्छौं’,
गौतमले केपी ओली कम्युनिस्ट पार्टीको नीति, विचार, सिद्धान्तबाट च्युत भएको आरोप लगाउँदै उनको पछाडि लाग्ने कम्युनिस्ट हुन नसक्ने समेत बताए ।
‘यस्तो भइसकेपछि केपी ओलीसित कम्युनिस्ट पार्टीको सिद्धान्त पनि रहेन । नीति पनि रहेन । जनताको बहुदलीय जनवादको त नाम पनि रहेन । जबज त देखाउनको निम्ती मात्रै रहेछ’, गौतमले भने, ‘यो कम्युनिस्ट नेताहरू पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारीप्रति घोर अपमान र ठूलो घात हो । उहाँले कम्युनिस्ट पार्टी भन्न पनि सक्नुहुन्न र आफूलाई कम्युनिस्ट पार्टीको नेता भन्न पनि सुहाउँदैन ।’
केपी ओलीले प्रधानमन्त्रीको शक्ति र पदको चरम दुरुपयोग गर्ने योजना बनाएको भन्दै उनले ओली प्रबृत्तिलाई मध्ययुगीन सामन्तवादको संज्ञा दिए । ‘मैले जे गर्छु त्यही सिद्धान्त हुन्छ, जे गर्छु त्यही संविधान बन्छ र जसो गर्छु त्यही कानुन बन्छ भन्ने उहाँलाई परेको छ’, अन्तर्वार्तामा उनले भनेका छन्, ‘यो मध्ययुगीन सामन्तवादको अवस्था हो जहाँ राजाले जे बोल्यो त्यै कानुन हुन्थ्यो । अहिले केपी ओलीले जे बोल्यो त्यै कानुन हुने अवस्था सिर्जना भएको छ ।’
गौतमले ओलीले महाअधिवशेनको मिति घोषणा गरेपनि महाधिवेशन भने नगर्ने दावी गरे । ‘त्यो केपी ओलीको अराजकताको घोषणाबाहेक केही पनि हुँदैन’, उनले भने ।
ओली नेतृत्वको सरकारलाई गौतमले गुटको सत्ताको संज्ञा दिए । उनले ओलीले आज गरेको निर्णय नमान्ने र आफूहरुको पद खारेज नभएको बताए ।