ओली र प्रचण्डले एकता गरेनन भने मुख कसरी देखाउने ?- बामदेव गौतम - Himal Post Himal Post
  • २७ मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 12 2025
Logo

ओली र प्रचण्डले एकता गरेनन भने मुख कसरी देखाउने ?- बामदेव गौतम



काठमाडौं– नेकपा एमालेका नेता वामदेव गौतमले ओली र प्रचण्डले पार्टी एकतामा ढिलाई गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

एकतामा ढिलाइ हुनुको कारणबारे आफूलाई पनि कुनै जानकारी नभएको भन्दै उनले एकता प्रक्रियालाई छिटो टुंगो लगाउन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन्।

एमाले र माओवादी केन्द्रको सिन्धुली–काठमाडौं सम्पर्क मञ्चले संयुक्त रुपमा शनिबार गोदावरीमा आयोजना गरेको वनभोज कार्यक्रममा बोल्दै उनले पार्टी एकतामा भइरहेको ढिलाइप्रति चासो व्यक्त गरेका हुन्।

‘पार्टी एकता समन्वय समितिले दुई जना अध्यक्षलाई सम्पूर्ण जिम्मा दियो, उहाँहरुले पनि खुसीसाथ त्यो जिम्मेवारी लिनुभयो, के कारण अहिलेसम्म सहमति गर्न सक्नुभएको छैन, मैले बुझ्न सकेको छैन’, कार्यक्रममा उनले भने, ‘मैले पनि तपाईँहरुले जस्तै अनलाइनमा चुहिएको खबर पढ्ने गरेको छु, हिजो पनि ३ घन्टा वार्ता गर्नुभयो, अस्ति २ घन्टा बस्नुभयो, तर समस्या कहाँनिर छ? किन टुंगो लगाउन सकिरहनुभएको छैन?’

ढिलाइ भए पनि पार्टी एकता जसरी पनि टुंग्याउनुपर्ने उनको भनाइ छ। पार्टी एकता जनताबाटै अनुमोदित भइसकेको भन्दै कुनै पनि बहानामा तलमाथि हुने अवस्था नरहेको बताए।

‘एकता भएन भने फेरि यो अनुहार लिएर जनतामा जान सक्दैनौं, हामी पछारिन्छौं भुइँमा, उठ्न सक्दैनौं’, उनले भने।