वामदेवलाई चुनावकै डर

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता गराएरै छाड्ने बताएका छन् ।
पार्टी एकता राष्ट्रिय अभियान घोषणामा आज नेता गौतमले पार्टी विभाजन हुँदा थुप्रै समस्या उत्पन्न हुने उल्लेख गरे । उनले भने, ‘पार्टी व्यावहारिक र राजनीतिकरुपमा फुटे पनि कानूनीरुपमा अझै फुटेको छैन, त्यसैले एकीकृत अभियानमा लाग्नुपर्छ ।’
तीन वर्ष पहिले कम्युनिष्ट पार्टी एकीकृत हुँदा संसारलाई तरङ्गीत बनाएको तर आज फुटको अवस्था सिर्जना हुँदा ज्यादै पीडा महसुस भइरहेको उनको भनाइ थियो । झण्डै दुई तिहाइ बहुमत प्राप्त पार्टीको सरकार आज विभाजनको अवस्थामा पीडा भोग्नु परेको बताउँदै उनले अब पुनः पार्टीलाई जोडेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
विगतमा आफूहरुले पार्टी बनाउन १३ वर्ष सङ्घर्ष गरेको बताउँदै उपाध्यक्ष गौतमले अब जति वर्ष समय खर्च भए पनि मिलाएरै छाड्ने उनले जिकिर गरे ।
नेकपाका शीर्ष नेता तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका नेता दाहालले पार्टीलाई चिराचिरा पार्न खोजेका उने आरोप लगाए । अहिले नेकपामा भइरहेको विवादका कारण एकथरीका नेता ‘हामी निर्वाचन हुन दिन्नौँ’ र अर्को थरीका नेता ‘हामी निर्वाचनमा बहुमत ल्याएरै छाड्छौँ’, भनेर हिँड्नु उचित नभएको गौतमले तर्क गरे ।
दुई पार्टी मिलेर नेकपा एकृकीत भएपछि गरिएको निर्वाचनमा आफूहरुले ४२ लाख मत प्राप्त गरेको र नेपाली कांग्रेले एकलरुपमा ३० लाख मत प्राप्त गरेको बताउँदै नेता गौतमले अब निर्वाचनमा जाँदा आफूहरुले पराजय हासिल गर्ने विचार राखे ।
जनताको साथ लिएर समाजवादको बाटो निर्माण गर्न आफू लागिपर्ने तर्क गर्दै उनले प्रधानमन्त्री ओली र नेता दाहालका केही नजिकका व्यक्तिबाहेक अरु जनता एकताका पक्षमा रहेका आफूले बुझेको उपाध्यक्ष गौतमले अवधारणा व्यक्त गरे । रासस

